जेन-जी आन्दोलन: स्वचालित हतियार प्रयोगको आशंका

३० भदौ, काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको सरकारी तथ्यांक बाहिर आएको छ। यति धेरै मानिसको मृत्यु हुने गरी भदौ २३ मा आन्दोलन स्थलमा कसरी गोली चल्यो भन्ने विषयमा कौतूहलता पैदा भएको छ। प्रहरीले धेरै संख्यामा हताहत हुने गरी कुन हतियारले गोली प्रहार गरेको थियो भनेर अझै खुलेको छैन।

जेनजीको प्रदर्शनलाई सुरक्षा संयन्त्रले कसरी लिएको थियो भनेर यतिबेला कोही बताउन चाहन्नन्। खासगरी सूचना संकलनमा प्रहरीले कमजोरी देखाएको हो कि भन्ने अनुमान गरिए पनि करिबकरिब घटनास्थलमै १९ जनाको ज्यान जाने गरी गोली प्रहार भएको थियो । थप एक सयभन्दा बढीलाई गोली लागेको थियो । यसरी धेरै व्यक्ति हताहत हुनुमा प्रहरीको मात्रै हात थियो वा आन्दोलनमा अरू कुनै समूहको घुसपैठ थियो भनेर खुल्न सकेको छैन।

जानकारहरूका अनुसार घटनास्थलमा स्वचालित हतियार प्रयोग भएको हुन सक्छ। त्यस दिन स्वचालित हतियारभन्दा पनि रबरको गोली, हवाई फायर तथा साना हतियार मात्रै लिएर प्रहरी आन्दोलन स्थलमा गए पनि ठुलो संख्यामा मान्छे हताहत हुने गरी गोली चल्दा कुन हतियार प्रयोग भएको थियो भन्ने विषय सोचनीय छ। प्रहरीसँग भएको इन्सास राइफल, एसएलआर तथा पेस्तोल प्रयोग भए कि भएनन्? उनीहरूले भिड नियन्त्रणका लागि यी हतियार प्रयोग गर्दा क्षति भएको हो कि होइन भन्ने विषयमा अहिले पनि अन्योल छ।

प्रहरीले भिड नियन्त्रणका लागि प्रयोग गरेका सामग्री कमजोर भएका कारण गोली चलाउनुपरेको हो? यस्ता प्रश्न अरू धेरै छन्। संसद् भवन जोगाउन कमान्डो तालिम लिएका प्रहरीले एसएलआरबाट गोली चलाएको आशंका पनि उत्तिकै छ। अर्कातर्फ आन्दोलनलाई चर्काउन र उत्तेजित पार्न अरू कसैले नै गोली चलाएको आशंका पनि गरिएको छ। यो विषयमा अनुसन्धान र छानबिन गर्ने तयारी सरकारले गरेको छ। त्यसपछि मात्रै त्यसबारे खुल्न सक्ने बताइन्छ।

अर्कातर्फ आन्दोलनका क्रममा प्रहरीका अतिरिक्त सशस्त्र प्रहरी पनि खटिएको थियो। त्यस दिन सशस्त्र प्रहरीको कमान्डोले नेपाल प्रहरीलाई सहयोग गर्दै थियो। तर गोली चलाउने क्रममा सशस्त्र प्रहरी अघि सरेको थियो या थिएन भन्ने खुलेको छैन। प्रहरी मात्रै अग्रसर भएको थियो वा सशस्त्र प्रहरी पनि अग्रसर भएको हो भनेर खुल्न बाँकी रहेको हो। यसअघि सशस्त्र प्रहरीले गोली चलाएकै कारण आन्दोलनकारीहरूको मृत्यु भएको खुलेको छैन। यो विषयमा सशस्त्र प्रहरीले नै स्पष्ट पार्नुपर्छ।

जेनजी युवाले सोमबार आन्दोलन गर्ने भनेर तीन दिनअघि नै सरकारलाई चेतावनी दिएका थिए। उनीहरूले सामाजिक सञ्जालबाट आन्दोलनमा सहभागी हुन खबर गरेका थिए। सोहीअनुसार युवाहरू माइतीघरमा जम्मा भएर बानेश्वरतर्फ जाँदै गर्दा बिजुलीबजार बबरमहलबाट अर्को एउटा भिड थपिएको थियो। साथै तीनकुने र शंखमूलतिरबाट आउने अर्को भिड पनि मिसिएपछि प्रहरीको ब्यारिकेड नाघेर अघि बढेको भिडलाई प्रहरीले संसद् भवनअघि आइपुग्दा मात्रै रोकेको थियो।

आन्दोलनका लागि जेनजीका दुई प्रतिनिधि पुरुषोत्तम यादव र सबल गौतमले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति नै मागेका थिए। तर अहिले उनीहरू कहाँ छन् भन्ने थाहा छैन। त्यस दिन उनीहरूको कमान्डमा आन्दोलन थिएन भन्ने स्पष्ट भइसकेको छ। आन्दोलनका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सहजै अनुमति पनि दिएका थिए। आन्दोलनअघि जिल्लास्थित सुरक्षा समितिको बैठक बस्ने गर्छ र सो समितिले आन्दोलनमा के–कस्तो सुरक्षा अवस्था अपनाउने भन्ने कार्यविधि तय गर्छ। फिल्डमा खटिने कमान्डरलाई सबै अधिकार दिएर पठाइएको हुन्छ।

सोमबार पनि आन्दोलनका क्रममा कुनै कठिनाइ आए गोली प्रहार गर्नेसम्मको अधिकार प्रयोग भएको हुन सक्छ। भिड नियन्त्रण गर्नै नसकेको अवस्थमा प्रहरीले आन्दोलनकारीलाई घुँडामुनि गोली हान्नुपर्छ। त्यस दिन भने धेरैजसो आन्दोलनकारीलाई टाउकोमा गोली लागेको थियो । टाउकोमा कसरी गोली लाग्यो भन्नेमा अर्को छानबिन हुनुपर्छ। यो घटनाले प्रहरीको तालिममाथि नै प्रश्न उठेको छ।

यसैगरी प्रदर्शन नियन्त्रणका लागि आवश्यक ‘ब्लकेड’ पनि सडकमा किन धेरै खडा गरिएन भन्ने अर्को प्रश्न उठेको छ। जबकि नयाँ बानेश्वरकेन्द्रित यसअघिका सबै खाले आन्दोलनमा प्रहरीले संसद् भवन आसपासलाई नै निषेधित क्षेत्र भनेर सूचना जारी गरेका बेला सडकमा पर्याप्त ‘ब्लकेड’ नराख्नु अर्को कमजोरी थियो। यस्ता धेरै कमजोरी त्यस दिन सुरक्षाकर्मीले किन गरे? यो विषयमा प्रहरीले आन्तरिक रूपमा समीक्षा गर्नेछ। भिड बढ्दै गएपछि सडकमा सुरक्षाकर्मीहरूको उपस्थितिलाई किन बढाउन सकिएन वा दुई घण्टामै किन गोली चलाउनुपरेको हो भन्ने विषयमा प्रहरीले समीक्षा गर्नैपर्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours