२८ भदाै, काठमाडौँ । जेनजीको आन्दोलन पछि अभिभावकविहीन बनेको नेपालले ५ दिन पछि शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाएको छ ।
सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश हुँदै अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त भएकी कार्की नेपाली इतिहासकै पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।
करीब १० वर्षअघि पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनी अहिलेको विषम परिस्थितिमा नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी आन्दोलनकारीको सिफारिसमा प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।
उनले देशको नेतृत्व सम्हालेसँगै विराटनगर क्षेत्रबाट प्रधानमन्त्री बन्नेको संख्या पनि थपिएको छ । नेपालको राजनीतिक इतिहासमा विराटनगरको योगदान विशेष महत्त्वपूर्ण रहँदै आएको छ। यो सहरले अहिलेसम्म मुलुकलाई छैटौं प्रधानमन्त्री दिएको छ । नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीदेखि पहिलो महिला प्रधानमन्त्री दिएको विराटनगर ऐतिहासिक रूपमा पुनः स्मरणीय बनेको छ।
विश्वेश्वरप्रसाद (विपि) कोइराला
विराटनगरकै भूमिबाट उदाएका विश्वेश्वरप्रसाद (विपि) कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बने। प्रजातान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाले लोकतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक कदम चालेका थिए। उनी वि.स.२०१६ जेष्ठ १३ देखि २०१७ पुस १सम्म १८ महिना मात्र प्रधानमन्त्री बने।
मातृका प्रसाद कोइराला
कांग्रेसका प्रभावशाली नेता तथा बीपी कोइरालाका दाजु मातृका प्रसाद कोइराला पनि प्रधानमन्त्री बने। नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक मातृकाले नेपाललाई पार्टी–आधारित राजनीतिसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए। उनले पहिलो २००८ फागुन देखि २००९ फागुन र दोश्रो २०१० असार–२०१२ असारसम्म नेपालको प्रधानमन्त्रीका रुपमा काम गरेका थिए ।
गिरिजाप्रसाद कोइराला
पछिल्लो बहुदलीय अभ्यासमा विराटनगरकै अर्को नाम चर्चामा रह्यो-गिरिजाप्रसाद कोइराला। उनी चारपटक प्रधानमन्त्री बनेका थिए। २०४६ सालपछि पुनःस्थापित लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा गिरिजाको नेतृत्व निर्णायक ठहरियो। उनले २०४८ जेठ २०५१ पुस, २०५४ असार–२०५५ फागुन, २०५६ कार्तिक–२०५८ असार, २०६३ वैशाख–२०६५ असार सम्म गरेर ४ पटक देशलाई हाकेका थिए ।
मनमोहन अधिकारी
नेपालको राजनीतिमा नयाँ इतिहास रच्दै विराटनगरकै मनमोहन अधिकारी २०५१ सालमा देशका पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री बने। उनको ‘आय आर्जन नभएकालाई मासिक भत्ता’ भन्ने योजना आज पनि स्मरणीय छ। उनी २०५१ पुस देखि २०५२ असार सम्म प्रधानमन्त्री रहेका थिए ।
नगेन्द्र रिजाल
पञ्चायतकालमा पनि विराटनगरले नेतृत्व दिएको थियो। नगेन्द्र रिजाल तत्कालीन व्यवस्थामा प्रधानमन्त्री बनेर देशलाई दिशा दिएका थिए। उनको कार्यकाल २०३० फागुन देखि २०३२ भदौसम्म रह्यो ।
सुशीला कार्की
इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नाम पनि विराटनगरकै हिस्सामा छ। सुशीला कार्की देशकी पहिलो महिला प्रधानमन्त्री बनेर नयाँ आयाम थपिन्।


+ There are no comments
Add yours