२६ भदौ, काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रमा बुधबार जेनजी आन्दोलनकारी युवाहरूबीच झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक सरकारविहीन अवस्थामा रहेको बेला नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न युवा समूह सुन्धारामा भेला भएका थिए। नेपाली सेनाले स्थिति नियन्त्रणमा लिँदै आन्दोलनकारीहरूसँग छलफल सुरु गरेपछि फरक–फरक समूहले जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी गर्दै विवाद सिर्जना गरेका छन्।
बुधबार जंगीअड्डा गेटमा माइकिङ गर्दै नेपाली सेनाले विभिन्न समूहका ‘लिडर’ हरूको नाम र सम्पर्क नम्बर टिपाउन आग्रह गरेको थियो। सेनाले बिहीबार बिहान सम्पर्कमा आउन भनेपछि युवा समूहहरू आ–आफ्ना सिफारिस लिएर सुन्धारा पुगेका थिए। तर, अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच कुरा नमिल्दा टकरावको स्थिति उत्पन्न भएको हो।
अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई अघि सारेका विभिन्न समूहबीच बुधबार सैनिक मुख्यालय जंगीअड्डा अगाडि पनि विवाद भएको थियो ।
बिहीबार युवाहरू सुन्धारा क्षेत्रमा भेला भइरहेका छन् । जंगीअड्डा परिसर अगाडि नेपाली सेनाले भिड जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका छन् ।


+ There are no comments
Add yours