चालु खाता ४ खर्ब ९ अर्ब र शोधनान्तर ५ खर्ब ९४ अर्ब बचतमा

०८ भदाै, काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो ।

प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँले बचतमा रहेको छ । आव २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बचतमा थियो ।

गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा छ । आव २०८०/८१ मा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो । गत आवमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब २ करोड रुपैयाँ बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत आवमा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहेको अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि ३.२८, उद्योग क्षेत्रको ४.५३ र सेवा क्षेत्रको वृद्धि ४.२१ प्रतिशत रहेको अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.१६, १२.८३ र ६२.०१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, गत आवमा कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको ६.५५ प्रतिशत रहेको छ । कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४.०७ र ३६.२४ प्रतिशत रहेको छ ।

गत आवमा कूल विद्युत्को जडित क्षमता वृद्घि भई ३ हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् ३ हजार ३९० मेगावाट रहेको छ । त्यस्तै, कूल पर्यटक आगमन १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.६६ प्रतिशतले अवमूल्यन भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours