मधेसको राजस्व सङ्कलनमा ७ वर्ष यता कै उच्च बृद्दि

०२ भदाै, महोत्तरी । मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ भएको छ । यो पछिल्ला ७ आर्थिक वर्षकै उच्च हो ।

७ वर्ष पहिले आव २०७५/७६ मा २अर्ब ६६ करोड १५ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । ७ वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को सङ्कलन दोब्बर बढी भएको हो ।

मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ । कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताए । “राजस्व सङ्कलनमा यो उल्लेख्य प्रगति हो”, सचिव महतोले भने, “यसले अब राम्रो लिक समातेको छ ।”

यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा ३ अर्ब ५ करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्ष आगामी वर्षहरुमा राजस्व सङ्कलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ । सङ्कलन प्रक्रियालाई वैज्ञानिक रुपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours