चालु आर्थिक वर्षको पहिलो एक महिनाको सेयर बजारको परिदृश्यः कीर्तिमानी उचाईबाट करेक्सनको यात्रा

०१ भदाै, काठमाडौँ । नेपाली सेयर बजारले चालु आर्थिक वर्षको पहिलो एक महिनामा लगानीकर्तालाई उत्साहको शिखरदेखि अनिश्चितताको गहिराइसम्मको यात्रा गराएको छ ।

आर्थिक वर्षको सुरुमा देखिएको अभूतपूर्व “बुल रन”ले नेप्सेलाई लामो समयको अन्तरालपछि ३ हजार अंकमाथिको ऐतिहासिक उचाइमा पु¥यायो भने त्यसपछिका दिनमा बजारले गहिरो करेक्सनको सामना गरेको छ । यो एक महिनाको अवधि बजारको मनोविज्ञान, लगानीकर्ताको अपेक्षा र बजारको आन्तिरिक शक्तिको परीक्षणको अवधिको रुपमा रह्यो ।

साउनको सुरुवातमा सेयर बजारले स्वर्णिम यात्रा तय गरेको थियो । नयाँ आर्थिक वर्षको आगमन, मौद्रिक नीतिप्रतिको सकारात्मक अपेक्षा र बजारमा प्रयाप्त तरलताको कारण लगानीकर्ताको मनोबल उच्च रहेको थियो । यही उत्साहको जगमा नेप्से परिसुचकले कीर्तिमानी यात्रा तय गर्दै गयो ।

साउनको दोस्रो हप्तामा नेप्सेले ३ हजार अंकको ऐतिहासिक विन्दु पार ग¥यो । नेप्सेले चार वर्षको लामो प्रतिक्षा पछि ३ हजार अंक पार गरेको थियो । नेप्से २०७८ भदो २ गते ३१९८ अंकमा पुगेको थियो भने, त्यसपछि चालु आर्थिक वर्षको साउन ११ गते ३०१२ अंक माथि पुगेको थियो । यसले बजारमा थप उत्साहको सञ्चार गर्नुका साथै लगानीकर्ताहरुलाई आकर्षित पनि गरेको थियो ।

बजारको वृद्धिसँगै कारोबार रकम पनि उचाई लिँदै गएको थियो । साउनको सुरुवातमा दैनिक कारोबार रकम २० अर्ब रुपैयाँ नाघेको थियो । यसले बजारमा लगानीकर्ताको सक्रियता कति उच्च थियो भन्ने स्पष्ट पार्छ । नेप्सेले ३ हजार अंकको उचाई पार गरेकै दिन अर्थात साउन ११ गते कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ पुगेको थियो । नेप्सेको यो उचाईसँगै कुल बजार पूँजीकरण ५० खर्ब रुपैयाँ नाघेको थियो । साउन १३ गते मंगलबार कुल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ कायम भएको थियो । यो अवधिमा बजारमा सानादेखि ठूला सबै लगानीकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो र बजार निरन्तर उकालो लाग्ने यात्रा प्रबल थियो ।

बजार “सधैं एकै दिशामा हिँड्दैन” भन्ने सिद्धान्तलाइृ चरितार्थ गर्दै, उत्साहको उत्कर्षपछि बजारमा करेक्सननको चरण सुरु भयो । लगातारको वृद्धि पछि उच्च विन्दुमा पुगेको नेप्सेमा लगानीकर्ताले नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा बिक्री चाप बढ्न थाल्यो ।

साउन महिनाको मध्यपछि बजारमा दोहोरो अंकको गिरावटले निरन्तरता पाउँदै गयो । नेप्से परिसुचक क्रमशः ३ हजार अंकबाट तल झर्दै २९ सय, २८ सय र २७ सयको तहमा आयो । नेप्से महिनाको कारोबारको अन्तिम दिन साउन २९ गते अर्थात बिहिबार २७८८.३६ अंकमा पुगेर बजार बन्द भएको छ ।

बजार घट्न थालेसँगै लगानीकर्ताहरु हच्चकिन पुगे, जसको प्रत्यक्ष असर कारोबार रकममा देखिन थाल्यो । कुनै समय २० अर्ब रुपैयाँ नाघेको कारोबार रकम १९ अर्ब, १६ अर्ब, १० अर्ब हुँदै ६, ७ अर्बको हराहारीमा झ¥यो । यो महिनाको कारोबारको अन्तिम दिन ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएका छन् । कारोबार रकममा आएको यो गिरावटले नयाँ लगानीकर्ता हच्चकिन पु्ग्दा पुराना लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेको संकेत गरेको छ ।

यसका साथै नेप्से परिसुचकमा आएको गिरावटसँगै लगानीकर्ताले करिब ४ खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण गुमाएका छन् ।

बजारमा आएको गिरावटको सबैभन्दा प्रमुख र स्वाभाविक कारण नाफ बुकिङनै भएको विश्लेषकहरुको भनाई छ । तल्लो विन्दुमा किनेका लगानीकर्ताहरुले ३ हजारको ऐतिहासिक बिन्दुलाई नाफा सुरक्षित गर्ने अवसरको रुपमा लिए, जसले बिक्री चाप बढायो । यसको साथै जब बजारमा गिरावट सुरु हुन्छ, तब लगानीकर्ताहरुले डराएर हतारमा सेयर बेच्न सुरु गर्छन्, जसले गिरावटलाई तिव्र बनाउँछ । ३ हजारको तहबाट बजार तल झरेपछि यो क्रम झनै बढेको देखिन्छ ।

यसका साथै कुनै पनि बजारमा लगातार बढिरहन सक्दैन । लामो समयको बुल रन पछि बजारमा प्राविधिक करेक्सन आउनुलाई स्वभाविक मानिन्छ । यसले बजारलाई दिगो र स्वस्थ बनाउन मद्धत गर्ने विश्लेषकहरुको भनाई छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours