३१ साउन, काठमाडाैँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण अब औपचारिक रूपमा हिमालय टिभी प्रिमियम मार्फत हुने भएको जानकारी गराउन पाउँदा हामी उत्साहित छौं ।
यो प्रतिष्ठित महिला भलिबल लिग भद्र २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छ। यस लिगमा १८ अन्तर्राष्ट्रिय खेलाडीहरूसहित नेपालका प्रख्यात महिला भलिबल खेलाडीहरू ६ फरक टोली मार्फत प्रतिस्पर्धा गर्दैर्छन् । साथै, लिगको प्रतिष्ठालाई कायम राख्न विभिन्न लोकप्रिय कलाकारहरू पनि लिगको ६ फरक टोलीमा सहभागिता जनाउदैछन् ।
यस लिगको प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक सञ्चालक कम्पनी इन्फिनिटी ड्रिम्स प्रालि बीच सुश्री मिडिया प्रालिमार्फत सम्पन्न भएको हो । यो साझेदारी यस सिजनको लागि एक महत्वपूर्ण कदम मानिन्छ ।
सुश्री मिडिया प्रालिका प्रबन्ध निर्देशक सुमन अधिकारी भन्छन्, यो सफल साझेदारीको लागि हामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग र हिमालय टिभी प्रिमियम दुबईलाई धन्यवाद तथा बधाई दिन चाहन्छौं । महिला खेलकुदको बढ्दो उत्साह र लोकप्रियतालाई सबैको सहयोग आवश्यक पर्ने भएकाले, हामीले यस साझेदारीको सफलतालाई गर्वको रूपमा महसुस गरेका छौं ।’
हिमालय टिभी प्रिमियमका जनरल म्यानेजर, गोविन्द ढकाल भन्छन्, ‘पूरै एसियामा पहिलो पटक सञ्चालन हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हाम्रो हिमालय टिभी एचडी प्रिमियम मार्फत हुने भएकोमा हामी अत्यन्तै खुशी छौं । महिला खेलकुदको विकासका लागि यो हाम्रो दायित्व पनि हो । देश विदेशबाट आउने खेलाडीहरूले यस लिग र हाम्रो च्यानलको शोभा बढाउने विश्वास हामीलाई छ ।’
यो लिगले महिला खेलकुदको विकास र लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।नेपालको राष्ट्रिय खेल भलिबलको पहिलो महिला फ्रेञ्चाइज लिग अब हिमालय टिभी प्रिमियम एचडी मार्फत उच्च गुणस्तरीय प्रसारणमा हेर्न सकिनेछ । खेलको प्रोडक्सन अन्तर्राष्ट्रिय स्तर अनुसार गरिने व्यवस्थाको तयारी भइरहेको छ ।


+ There are no comments
Add yours