२९ साउन, काठमाडौँ । संयुक्त राज्य अमेरिका र रुसबीच अलास्कामा शुक्रवार युक्रेन युद्ध अन्त्य गर्ने विषयमा हुन लागेको शिखर बैठकलाई केही वर्षयता भएका सर्वाधिक महत्त्वपूर्ण कूटनीतिक घटनाक्रममध्ये एउटा मानिएको छ। उक्त बैठक हुन लागेको स्थानको ऐतिहासिक महत्त्व पनि छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकी भूमि अर्थात् अलास्काको सबैभन्दा ठूलो सहर एङ्करिजमा वार्ता हुने बताइएको छ।
अलास्का भूभागका हिसाबले अहिले अमेरिकाको सबैभन्दा ठूलो राज्य हो। अलास्काले अमेरिकाको कुल क्षेत्रफलको झन्डै २० प्रतिशत भाग ओगट्छ। तर १५० वर्षअघि उक्त भूभाग रुसको स्वामित्वमा थियो।
वार्ताका लागि ‘युक्तिसङ्गत’ स्थान
अलास्का उत्तर अमेरिका महादेशको सुदूर दक्षिणपश्चिम भेगमा पर्छ। बेरिङ स्ट्रेटले अलास्कालाई रुसबाट छुट्ट्याउँछ। उक्त समुद्री भाग साँघुरो ठाउँमा झन्डै ८० किलोमिटर फराकिलो छ।
ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग अलास्कामा शिखरवार्ता हुने घोषणा गरेपछि रुसी राष्ट्रपतिका एक सहयोगी युरी युशाकोफले दुई देशका शीर्षस्थ नेताहरूबीच हुन लागेको त्यस्तो महत्त्वपूर्ण र प्रतीक्षित वार्ताका लागि “बेरिङ स्ट्रेटमाथिबाट उडेर” अलास्का जानु “निकै युक्तिसङ्गत” देखिएको बताएका थिए।
रुस र अलास्काबीच सन् १७०० को पूर्वार्धदेखि नै सम्बन्ध रहँदै आएको छ। त्यतिबेला साइबेरियाका आदिवासीहरूले पहिलो पटक पूर्वतिर निकै विशाल क्षेत्र रहेको बताएको ठानिन्छ।

डेनिश अन्वेषक भिटुस बेरिङको नेतृत्वमा निस्किएको एउटा टोलीले उक्त नयाँ क्षेत्र रुसको मुख्य भूभागसँग नजोडिएको पत्ता लगायो। तर बाक्लो कुहिरोका कारण उनीहरूको अन्वेषणयात्रा पूर्ण हुन सकेन।
सन् १७४१ मा बेरिङकै नेतृत्वमा भएको अर्को यात्रा सफल रह्यो। त्यस बेला मानिसहरू समुद्रको तटसम्म पुगे। त्यसपछि कैयौँ व्यापारिक यात्राहरू भए। समुद्री ओतको भुवा रुस फिर्ता भएपछि रुससँग युरोप, एशिया र उत्तर अमेरिकाको प्रशान्त महासागरीय तटवर्ती क्षेत्रबाट भुवाको व्यापार गर्ने बाटो खुल्यो।
तर उन्नाइसौँ शताब्दीमा ब्रिटेन र अमेरिकाका जनावरको भुवा व्यापारीहरू रुसी व्यापारीका कट्टर प्रतिद्वन्द्वी बने।
सन् १८२४ मा रुसले अमेरिका र ब्रिटेनसँग रुसले छुट्टाछुट्टै सन्धि गरेपछि त्यस्तो प्रतिद्वन्द्विता रोकियो। समुद्री ओत लोप हुने अवस्थामा पुगेकाले र क्राइमिया युद्ध (१८५३-५६) को राजनीतिक परिणामका कारण अलास्का अमेरिकालाई बेच्ने मनस्थितिमा रुस पुग्यो।
‘मूर्खतापूर्ण’ ठानिएको निर्णय

अमेरिकाका तात्कालिक विदेशमन्त्री विलिअम स्यूअर्डको नेतृत्वमा अलास्काको भूमि किन्न रुससँग वार्ता र सन्धि भयो।
त्यसको ठूलो विरोध भए पनि अमेरिकाको कङ्ग्रेसले स्यूअर्डले सिफारिस गरेअनुरूप रुसलाई ७२ लाख अमेरिकी डलर दिने प्रस्ताव पारित गर्यो। अमेरिकाले १८ अक्टोबर १८६७ मा अलास्काको तात्कालिक सदरमुकाम सिट्कामा आफ्नो झण्डा फहरायो।
सुरुसुरुमा आलोचकहरूले अलास्का किन्नुलाई “स्यूअर्डको मूर्खता” भनेका थिए। उक्त भूमिबाट अमेरिकालाई कुनै लाभ नहुने उनीहरूको धारणा थियो।
वर्तमान बजारभाउसँग तुलना गर्ने हो भने अमेरिकाले त्यतिबेला रुसलाई दिएको रकम अहिले १० करोड डलरजति हुन जान्छ। अहिले अमेरिकाको सबैभन्दा ठूलो राज्य बनेको उक्त भूभागका लागि त्यति मूल्य निकै कम हो।
उन्नाइसौँ शताब्दीको उत्तरार्धदेखि अलास्कामा सुनखानी र तेल तथा प्राकृतिक ग्यासका भण्डारहरू फेला पर्न थाले। त्यसबाट निकै ठूलो नाफा हुन थाल्यो।
स्यूअर्डको निर्णय लाभदायक प्रमाणित भयो। सन् १९५९ मा अलास्का औपचारिक रूपमै अमेरिकाको ४९औँ राज्य बन्यो।
अलास्कामा धेरै पर्यावरणीय स्रोतहरू छन्। त्यहाँ १२,००० वटाभन्दा बढी नदी र धेरै सङ्ख्यामा तालहरू छन्।
अमेरिकी कूटनीतिमा अलास्काको संलग्नता
अलास्काको राजधानी जूनो हो। त्यहाँ पुग्न डुङ्गा वा विमान चढ्नुपर्छ। अमेरिकाका सबै राज्यका राजधानीमध्ये जलमार्ग वा आकाशमार्गबाट मात्र पुग्ने सकिने त्यो मात्र एउटा स्थान हो। एङ्करिजस्थित लेक हूडमा संसारकै अतिव्यस्तमध्ये पर्ने सीप्लेन बेस छ। सीप्लेनहरू समुद्रमा अवतरण गर्न सक्ने र त्यहाँबाटै उडान गर्न सक्ने विमान हुन्। त्यहाँबाट दैनिक २०० वटा उडान हुन्छन्।
ट्रम्प र पुटिनबीच अलास्का राज्यको सबैभन्दा ठूलो सैन्यस्थल जोइन्ट बेस एल्मेन्डोर्फ-रिचर्डसनमा भेट हुने छ। उक्त स्थानको क्षेत्रफल ६४,००० एकर छ। आर्क्टिक क्षेत्रमा हुने अमेरिकी सैन्य गतिविधिका लागि उक्त स्थानलाई महत्त्वपूर्ण मानिन्छ।
अमेरिकी कूटनीतिक घटनाक्रममा अलास्का जोडिएको यो पहिलो पटक भने हैन। जो बाइडनले बनाएको नयाँ कूटनीतिक र राष्ट्रिय सुरक्षा टोलीका सदस्यहरूले मार्च २०२१ मा चिनियाँ समकक्षीहरूसँग एङ्करिजमै भेट गरेका थिए।
आसन्न ट्रम्प-पुटिन वार्ताबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन। तर ह्वाइट हाउसले अलास्काको भेट ट्रम्पका लागि “कुरा सुन्ने अभ्यास” हुने र त्यसले उनलाई “यो युद्ध कसरी टुङ्ग्याउन सकिन्छ भनेर जान्ने सर्वोत्तम सङ्केत दिने” बताएको छ।
गत साता पुटिनसँग शिखरवार्ता हुने घोषणा गर्दा ट्रम्प शान्ति स्थापना गर्ने प्रयासमा ठोस उपलब्धि हासिल हुने कुरामा सकारात्मक देखिन्थे।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको संलग्नताबिना हुने जस्तोसुकै सहमति सफल हुन नसक्ने पहिला बताएका थिए।


+ There are no comments
Add yours