२२ साउन, काठमाडौँ । नारायणगढ र गैंडाकोट जोड्ने गरी नारायणी नदीमा निर्माण हुने भनिएको राष्ट्रिय गौरवको सिग्नेचर ब्रिजको निर्माण कार्य चार वर्षे योजनाको आधाभन्दा बढी समय डिजाइनमै अल्झिएको छ । ठेक्का सम्झौता भएको दुई वर्ष तीन महिना बितिसक्दा पनि पुलको डिजाइनले अन्तिम रुप पाउन सकेको छैन, जसले गर्दा निर्माण सुरु हुने विषय नै अन्योल बढेको छ ।
डिजाएन एण्ड बिल्ड मोडलमा तुँदी कन्स्ट्रक्सन प्रालिले २०८० जेठ १९ गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्भाmैता गरेको थियो । सम्झौता अनुसार पहिलो १२ महिनाभित्र डिजाइन तयार गरी बाँकी ३६ महिनामा निर्माण सक्नुपर्ने थियो । तर सम्झौताको २७ महिना बितिसक्दा पनि निर्माण कम्पनीले सडक विभागमा अन्तिम डिजाइन पेश गर्नसकेको छैन । सुरुमा निर्माण कम्पनीले भारतीय कम्पनीमार्फत डिजाइन गराएको थियो । तर उक्त डिजाइनमा महाशाखाले चित्त नबुझाएपछि चिनियाँ विज्ञ कम्पनीलाई डिजाइन बनाउने जिम्मा दिइएको थियो । चिनियाँ कम्पनीले पुन डिजाइन पुनरावलोकन गरेर सुरुदेखि सबै कुराको अध्ययन गरेर डिजाइन निर्माण गर्दा ढिलाई भएको निर्माण कम्पनीको भनाई छ । साउन अन्तिम सम्ममा डिजाइने तयार हुने र तुरुन्तै निर्माण कार्य सुरु गरिने कम्पनीले बताएको छ ।
कम्पनीले डिजाइनको काम सम्पन्न गरेर निर्माण सक्नको लाागि थप एक वर्षको समय आवश्यक पर्ने बताएको छ । यद्यपि यसबारे आधिकारिक रुपमा म्याद थपको प्रक्रिया भने अघि बढेको छैन । सडक विभागले पुलको डिजाइन चीनको टोन्जी विश्वविद्यालयका प्रोफेसर डा.डेवेई चेन्लेले रिभ्यु गरिरहेको जनाएको छ ।
गत वर्ष २०८१ बैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र यातायात मन्त्री रघुविर महासेठले तामझामका साथ शिलान्यास गरेको पुलको निर्माण कार्य फिल्डमा सुरु हुन सकेको छैन । निर्माण कम्पनीका अनुसार यो डबल पाइलन केबल स्टेड ब्रिज प्रकारको अत्याधुनिक र जटिल डिजाइन पुल भएकोले केही समय लागेको हो । साथै निर्माण कम्पनीले पुल बन्ने क्षेत्र भुकम्पीय जोखिममा रहेको, नारायणी नदीमा पानीको बहावको तह अनुमानभन्दा माथि जानु र डिजाइन निर्माण भइसकेपछि अर्काे कम्पनीलाई डिजाइन निर्माणको जिम्मा दिएर डिजाइन परिवर्तन गुर्नपर्दा ढिलाइ भएको बताएको छ । डिजाइन निर्माण प्रक्रियामै दुई वर्ष लागेकोले अब एक वर्ष समय थप गर्नुपर्ने निर्माण कम्पनीको भनाई छ ।
अब निर्माण हुने पुल हाल सञ्चालनमा रहेको ४२० मिटर लम्बाइकै हुनेछ । फुटपाथ बाहेक साढे सात मिटर चौडाइ र साढे तिन मिटरको फुटपाथ रहने पुलमा दुईवटा मुख्य पिलर हुनेछन् । ती दुइृ पिलरबिचको दुरी २१० मिटर हुनेछ, जसले जल यातायात सञ्चालनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ । पुल निर्माणको लागि कुल १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो पुलको निर्माण पछि ४४ वर्ष पुरानो र जीर्ण बन्दै गएको हालको नारायणी पुललाई राहत मिल्नेछ । साथै नारायणगढ बुटवल सडक खण्ड चार लेनको भइरहेको सन्दर्भमा यो नयाँ पुलले यातायातलाई थप सहज बनाउने विश्वास लिइएको छ ।
सामान्यताय पुरानो पुलको आयु ४०–४५ वर्ष सम्मको हुन्छ, हालको नारायणीको पुल वि.स. २०३८ सालमा निर्माण भएको पुल हो । यो पुल पूर्वपश्चिम राजमार्गको मुख्य पुल हो । यो पुलको आयु सकिएको हुँदा जुनसुकै बेला पनि भत्किन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
नेपालको पुर्व पश्चिम जोडुनने मूख्य पुल हो नारायणीको पुल । यदि हालको पुलमा क्षति पुगेर राजमार्ग बन्द हुने अवस्था आएमा नेपालको पूर्व पश्चिम सम्बन्ध टुट्ने सम्भावना रहेको छ । व्यापारिक हिसाबले पनि लाइफलाइनको रुपमा रहेको यो पुलको आयु सकिएको हुँदा बेलैमा सम्बन्धित निकाय तथा सरकारले ध्यान दिएर नयाँ पुलको निर्माण कार्यलाई यथासघ्रि छिटो सम्पन्न गर्नुपर्छ ।


+ There are no comments
Add yours