चीन र भारतको कृत्रिम उत्पादनले खुम्च्यायो नेपाली यार्सागुम्बाको अन्तर्राष्ट्रिय बजार

१५ साउन, काठमाडौँ । चीन र भारतले कृतिम रुपमा उत्पादन थालेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली यार्सागुम्बाको निर्यातमा गिरावट आएको छ । पछिल्लो समय चिन र भारत ठुलो मात्रामा निर्यातकर्ताको रुपमा स्थापित हुँदा नेपालको परम्परागत बजार खुम्चिन पुगेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ५४८ केजी मात्र यार्सागुम्बा निर्यात भएको छ । जसबाट नेपालले २३ करोड ७५ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ ।

यो तथ्यांक अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा निकै निराशाजनक हो । उक्त आर्थिक वर्षमा नेपालले १ हजार ४८ केजी यार्सागुम्बा निर्यात गरी ७० करोड १८ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ४६ करोड ४३ लाख ३४ हजार रुपैयाँ बराबरको ९३६ केजी यार्सा कम निर्यात भएको विभागले जनाएको छ । यसरी हेर्दा एकै वर्षमा यार्सागुम्बा निर्यातबाट हुने आम्दानीमा ६६.१५ प्रतिशतले कमी आएको देखिन्छ ।

नेपाली यार्सागुम्बाको निर्यातमा आएको यो गिरावटको मुख्य कारण चिन र भारतले सुरु गरेको कृतिम उत्पादनलाई मानिएको छ । पछिल्लो समय यी देशहरुले वातारण अनुकुल बनाएर वंशाणुबाट यार्सा उत्पादन गर्न थालिसकेका छन् । कृतिम उत्पादनका कारण उनीहरु ठूलो मात्रामा निर्यातकर्ता बनेपछि प्राकृतिक रुपमा संकलन हुने नेपाली यार्साले बजारमा प्रतिस्पर्धा गर्न नसकेको यार्सा व्यवसायी संघका अध्यक्ष निराजन बहादुर चलाउने बताउँछन् ।

पछिल्लो समय हिमाली भेगका कयौँ मानिसहरुको आयआर्जनको प्रमुख स्रोतको रुपमा रहेको यार्सागुम्बाको उत्पादन नै घट्दै गएको छ । यार्साको उत्पादन नै घटेकाले त्यसको असर निर्यातमा परेको उनको दाबी छ ।

‘खासगरी यार्सा उत्पादन हिमाली भेगमा हुने भएकाले यसको उत्पादन राम्रो हुनका लागि हिमालमा हिउँ पर्नुपर्छ । तर जलवायु परिवर्तनको असरका कारण पछिल्लो समय हिमालमा हिउँ पर्ने क्रम कम भएको छ । जसले गर्दा उत्पादनमा असर पर्न गएको उनी बताउँछन् ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट हङकङ, चीन, सिँगापुर, अमेरिका, भियतनाम, कम्बोडिया, मलेसिया यूके, लगायत विभिन्न देशहरुमा हिमाली जडीबुटी यार्सागुम्बा निर्यात हुँदै आएको छ ।

गत आवमा सबैभन्दा धेरै हङकङमा निर्यात भएको छ । हङकङमा १२ करोड ९३ लाख ८१ हजार रुपैयाँको २०७ केजी यार्सागुम्बा निर्यात भएको छ ।

१४४ केजी यार्सागुम्बा चीन निर्यात भएको छ । सो परिमाणको यार्सा निर्यात हुँदा ३ करोड ८४ लाख ३९ हजार रुपैयाँ आम्दानी भएको छ । सिँगापुरमा २३ केजी यार्सा १ करोड ८८ लाख ४१ हजार रुपैयाँमा निर्यात भएको छ भने १ करोड ५१ लाख ५ हजार रुपैयाँको २९ केजी यार्सा अमेरिका निर्यात भएको छ ।

गत वर्ष ४२ केजी यार्सा भियतनाम निर्यात भएको छ । सो परिमाणको यार्साबाट १ करोड १४ लाख ७४ हजार रुपैयाँ आम्दानी भएको हो । १ करोड १३ लाख १८ हजार रुपैयाँको ५९ केजी यार्सा कम्बोडिया निर्यात भएको छ । २१ केजी यार्सा ६३ लाख ३४ हजार रुपैयाँमा मलेसिया निर्यात भएको हो भने ५९ लाख ३१ हजार रुपैयाँको २२ केजी यार्सा यूके निर्यात भएको विभागले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours