लगानी ऊर्जामा, रोजगारी उत्पादनमाः उद्योग दर्ताले देखायो नेपाली अर्थतन्त्रको मिश्रित चित्र

१५ साउन, काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०८०/८१ र गत आर्थिक वर्ष ८१/८२ मा नेपालको औद्योगिक क्षेत्रले एकैसाथ आशा र चुनौतीको संकेत गरेको छ । उद्योग विभागको तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्षमा देशमा २ खर्ब १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा ४३४ नयाँ उद्योग दर्ता हुँदा करिब २५ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको थियो । गत आर्थिक वर्षको ११ महिनामा २ खर्ब ३० अर्ब भन्दा बढीको लगानीमा ६६२ उद्योग दर्ता हुँदा ३१ हजार भन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । तर तथ्यांकको विश्लेषण गर्दा लगानीको प्रवाह र रोजगारी सिर्जनाबीच असन्तुलन र अर्थतन्त्रको संरचनागत बदलालाई उजागर गरेको छ ।

लगानीको चुम्बक ऊर्जा, तर रोजगारीमा सुस्तः सबैभन्दा धेरै लगानी आकर्षित गर्ने क्षेत्रमा ऊर्जा क्षेत्रले बाजी मारेको छ । जम्मा २२ वटा उद्योगले कूल लगानीमा करिब ४४ प्रतिशत हिस्सा ओगट्दै ८९ अर्ब १७ करोड २ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् । तर, यति ठुलो लगानीको तुलनामा यस क्षेत्रबाट सिर्जना हुने रोजगारी जम्मा १ हजार २६ जना मात्र रहेको छ । गत आर्थिक वर्षको जेठसम्म ऊर्जा क्षेत्रमा १ खर्ब १३ अर्ब ७४ करोड रुपैयाँको लगानीमा २७ उद्योग दर्ता हुँदा ९५६ जनाले मात्र रोजगारी पाउने बताइएको छ । यसले ऊर्जा क्षेत्र पूँजी सघन प्रकृतिको भएको र यसले देशमा ठूलो लगानी भित्र्याए पनि तत्काल बृहत् रोजगारी सिर्जनामा सीमित योगदान पुर्याउने स्पष्ट पारेको विज्ञहरुको भनाई छ ।

रोजगारीको मेरुदण्ड उत्पादनमूलक क्षेत्रः यसको ठीकविपरीत उत्पादनमूलक क्षेत्र रोजगारी सिर्जनाको वास्तविक इन्जिनको रुपमा देखिएको छ । १०७ उद्योग दर्तासहित यस क्षेत्रले ७ हजार ७९५ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता गरेको छ । ३६ अर्ब ८५ करोड १६ लाख रुपैयाँको लगानीमा यति धेरै रोजगारी सिर्जना हुनुले देशको बेरोजगारी समस्या समाधान गर्न र दिगो आर्थिक विकासको लागि उत्पादनमूलक उधेगको अपरिहार्यतालाई पुष्टि गरेको जानकारहरुको भनाई छ । गत आर्थिक वर्षको ११ महिनामा यस क्षेत्रमा ३१ अर्ब ६८ करोड ८४ लाख रुपैयाँको लगानीमा ९२ उद्योग दर्ता हुँदा ७ हजार १२९ जनाले रोजगारी पाउने प्रतिबद्धता जनाइएको छ ।

संख्यामा पर्यटन र सेवाको वर्चस्वः उद्योग दर्ताको संख्या हेर्दा पर्यटन (१३७) र सेवा (११८) क्षेत्रले सबैलाई उछिनेका छन् । यी दुई क्षेत्रमा मात्रै २५५ वटा नर्या उद्योग दर्ता भएका छन् । जुन कुल संख्याको आधाभन्दा बढी हो । यसले नेपालको अर्थतन्त्र पुनरुत्थानसँगै सेवा र पर्यनटतर्फ उन्मुख भएको देखिन्छ । यी क्षेत्रहरुले क्रमशः ७ हजार ३३० र ६ हजार ७७० रोजगारी सिर्जना सहित उत्पादनमूलक क्षेत्रलाई उछ्याइरहेका छन् । गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा ३८ अर्ब ९६ करोड रुपैयाँ लगानीका २२६ वटा उद्योग दर्ता हुँदा १२ हजार ८०९ जनालाई रोजगारी सिर्जना हुने जनाइएको छ । यस्तै सेवा क्षेत्रमा ४ अर्ब १० करोड रुपैयाँ लगानीका ९९ उद्योग दर्ता हुँदा ६ हजार २४८ जनालाई रोजगारी सिर्जना हुने प्रतिबद्धता गरिएको छ ।

भविष्यको संकेत सुचना प्रविधिको उदयः सुचना प्रविधि क्षेत्रमा तुलनात्मक रुपमा उदाएको छ । जम्मा १२ अर्बको लगानीमा २१ वटा उद्योगले १ हजार ४९२ रोजगारी सिर्जना गर्नुले यसले भविष्यमा राम्रो प्रतिफल दिने देखिएको हो । गत आर्थिक वर्षमा यो क्षेत्रमा १ अर्ब २२ करोड रुपैयाँमा १५७ वटा उद्योग दर्ता गरिएकोमा ३ हजार २८५ जनाको लागि रोजगारी सिर्जना हुने बताइएको छ । ऊर्जा क्षेत्रको तुलनामा ७ गुणा कम लगानीमा यस क्षेत्रले डेढ गुणा बढी रोजगारी दिनु आफैमा एक महत्वपूर्ण सुचक हो ।

चिन्ताजनक अवस्थाः कृषि, पूर्वाधार र खनिजः कृषिप्रधान देश भनिए तापनि कृषि तथा वनमा आधारित जम्मा १६ वटा उद्योग मात्र दर्ता हुनु चिन्ताको विषय हो । त्यसैगरि देश विकासको मेरुदण्ड मानिने पूर्वाधारमा जम्मा ९ र अथाह सम्भावना बोकेको खनिज क्षेत्रमा केवल ४ वटा उद्योग दर्ता हुनुले यी आधारभूत क्षेत्रमा लगानीकर्ताको आकर्षण कम रहेको देखाउँछ । गत आर्थिक वर्षमा यो क्षेत्रल क्रमशः १०, १ र १० वटा मात्र उद्योग दर्ता हुँदा जम्मा १ हजार २७४ जनाले मात्र रोजगारी पाउने बताइएको छ । यसले नीतिगत सुधार र प्रोत्साहनको तत्काल आवश्यकता औंल्याएको छ ।

उद्योग विभागको यो तथ्यांकले नेपालको औद्योगिक परिदुश्यमा एक रोचक द्धन्द्ध देखाएको छ । पूँजी ऊर्जाजस्ता ठूला परियोजनामा केन्द्रित हुँदा रोजगारीको सिर्जना भारी मात्रामा उत्पादन, सेवा र पर्यटन क्षेत्रले सिर्जना गरेको छ । भविष्यको अर्थतन्त्रको लागि आईटी जस्ता क्षेत्रले आशा जगाए पनि कृषि र पूर्वाधार जस्ता आधारभूत क्षेत्रमा देखिएको सुस्तताले नीति निर्माताहरुलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ । सन्तुलित र दिगो विकासका लागि लगानीलाई रोजगारी सिर्जनासँग जोड्ने र आधारभूत क्षेत्रलाई प्राथमिकता दिने रणनीतिको खाँचो स्पष्ट देखिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours