चिया निर्यात ३२ प्रतिशतले बढ्यो – अलैँचीको निर्यात भने घटेको छ

११ साउन, भद्रपुर । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँको चिया निर्यात भएको हो ।

एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए । आव २०८०/८१ मा ३ अर्ब १७ करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको उनले बताए।

कार्यालयको तथ्याङ्कानुसार आव २०८१/८२ मा अलैँचीको निर्यात ३ दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही अवधिमा ७ अर्ब ९३ करोड ९ लाख ९० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कानुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता १ दशमलव ८ प्रतिशत, प्लाइउड ७ दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा २ सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सिमेन्ट क्लिङ्कर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा १ दशमलव ५ प्रतिशतले कमी आएको छ । मेची भन्साबाट गत आव २०८१/८२ मा २५ अर्ब १३ करोड ९७ लाख ५० हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours