वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि

०१ साउन, पर्सा । मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि गरेका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ भरिमा २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा सो अवधिमा भने लक्ष्यको ८०.३५ प्रतिशत अर्थात् १ खर्ब ७५ अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले करिब साढे १८ अर्ब रुपैयाँ राजस्व सङ्कलन वृद्धि भएको जानकारी दिए । “कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा भने उल्लेखनीय मात्रामा वृद्धि भएको छ”, उनले भने, “यहाँको राजस्व सङ्कलनको मुख्य हिस्सा भने पेट्रोलियम पदार्थ र सवारी साधनको आयात नै हो ।”

वीरगञ्ज भन्सार कार्यालयले आव २०८०/८१ मा भने २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको ६४.१ प्रतिशत अर्थात् १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ रकम मात्रै राजस्व सङ्कलन गरेको थियो । वीरगञ्जकै अर्को सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षभरिमा ४९ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई आव २०८०/८१ मा ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैयाँ रकम राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले सो अवधिमा भने वार्षिक लक्ष्यको ७१.७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड १ लाख ९० हजार रुपैयाँ रकम राजस्व सङ्कलन गरेको थियो ।

प्रमुख भन्सार प्रशासक लामिछानेले वीरगञ्जका दुवै भन्सार कार्यालयले गत आव भरिमा समग्रमा २ खर्ब २५ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए । “मुलुकभरिमा कुल भन्सार राजस्व ४ खर्ब ८४ अर्ब संकलन भएको छ । जसमध्ये यहाँका २ भन्सार कार्यालयको समष्टिगत हिस्सा भने ४६ प्रतिशत रहेको छ”, उनले भने, “दुवै भन्सार कार्यालयले समग्रमा अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ प्रतिशत राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा अर्थतन्त्रमा केही सहजता हुुँदा राजस्व सङ्कलनमा वृद्धि भएको बताए । “अर्थतन्त्रमा केही सुधारका सङ्केत देखा परेकाले पनि राजस्व सङ्कलनमा केही सुधार देखिएको छ”, उनले भने, “नेपालको अर्थतन्त्र आयातमुखी भएकाले पनि युवा वर्ग विदेशतर्फ पलायन हुँदा खपतमा समस्या पनि यथावत नै छ ।”

वरिष्ठ उपाध्यक्ष राजपालले नेपाल र भारतबीच १ हजार ७०० किलोमिटर खुला सीमा नाका भएकाले पनि अनौपचारिक ढङ्गले आयात हुँदा पनि लक्ष्य भेट्टाउन कठिन भएको बताए । “हाम्रोमा राजस्वमा लक्ष्य वास्तविकभन्दा पनि धेरै ठूलो राख्ने गरिन्छ, जसले गर्दा पनि सहजै लक्ष्य भेट्टाउन मुस्किल पर्ने गर्छ”, उनले भने, “राज्यले लगानीमैत्री वातावरण गरेर मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान दिन जरुरी भइसकेको छ ।”

वरिष्ठ उपाध्यक्ष राजपालले विगतको तुलनामा सो आर्थिक वर्षमा आयात र निर्यात दुवैमा वृद्धि भएकाले पनि मुलुकको शिथिल भएको अर्थतन्त्रलाई चलायमान गराउनेतर्फ अब सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours