साझामा थपिँदै एक सय विद्युतीय बस

२९ असार, काठमाडौँ । काठमाडौँमा दसैँअगावै थप एक सय वटा स्मार्ट विद्युतीय बस सञ्चालन गरिने भएको छ । सरकारले चीनबाट बस ल्याएर साझा यातायातलाई सञ्चालन गर्न दिने सहमति भएको हो । आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेत एक सय विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरिएको थियो । सोही अनुसार बस सञ्चालनको तयारी भएको हो ।

मन्त्रीपरिषद्को २०७६ असार २४ र २९ गतेको बैठकले साझा यातायात सहकारी लिमिटेडलाई तीन सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्नका लागि सरकारबाट सेयर लगानीबापत उपलब्ध गराइएको तीन अर्ब रुपियाँबाट सो बस खरिद गर्न लागिएको हो । साझा यातायात सहकारी लिमिटेडमा नेपाल सरकारको ९९ प्रतिशत सेयर लगानी छ । २०७५ पुस ९ गतेको मन्त्रीपरिषद्को बैठकले नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । त्यसैका आधारमा सरकारले सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

साझा यातायातका कार्यकारी अधिकृत भपेन्द्र अर्यालले भन्नुभयो, “सरकारले नीतिगत रूपमै विद्युतीय बसलाई प्रोत्साहन गरिरहेको छ । दसैँअगावै एक सय वटा बस ल्याउने तयारी छ । काम अगाडि बढेको छ ।” सरकारले डिजेल, पट्रोलबाट चल्ने सवारीसाधान विस्थापन गरी विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै सरकारी निकायमा विद्युतीय सवारीसाधनको प्रयोगलाई अनिवार्य गर्ने नीति लिँदा प्रभावकारी हुने अर्यालको भनाइ छ ।

निजी क्षेत्रका व्यवसायीले भने सार्वजनिक विद्युतीय सवारीमा सहुलियत नहुँदा सञ्चालनमा अप्ठेरो परेको बताउँदै आएका छन् । १६ वटा विद्युतीय बस र २२ वटा विद्युतीय माइक्रो सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भन्नुभयो, “विद्युतीय बस महँगो छ । एउटा ठुलो बसलाई नेपाल ल्याउँदा एक करोड ५० लाखसम्म पर्छ । कर तिर्ने पैसाले डिजेलबाट चल्ने अर्को नयाँ गाडी आउँछ ।” विद्युतीय बस प्रवर्धनका लागि सरकारको स्पष्ट नीति हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आगामी पाँच वर्षमा सार्वजनिक विद्युतीय सवारी कति र कुन अवस्थामा हुने छन् भनेर किटानका साथ काम गर्नु प¥यो । पाँच वर्षभित्र ठुला बस ल्याएमा यो/यो कर छुट दिने छौँ भन्ने खालका नीति हुनु पर्छ । नत्र गाह्रो छ ।”

सरकारले साझा यातायातका विद्युतीय सवारीलाई एक प्रतिशत मात्रै भन्सारको व्यवस्था गरेको छ । निजी विद्युतीय सवारीलाई १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ । थप एक सय बसका लागि चार्जिङ स्टेसन, पार्किङ, होल्डिङ सेन्टर, मर्मत केन्द्र तथा स्पेयर पाटर्सको व्यवस्थापनको विषयमा पनि छलफल भएको छ । चार्जिङ स्टेसन पनि थप गर्नुपर्ने साझाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ठुला विद्युतीय बस मात्र होइन जिप, कार, माइक्रो पनि सञ्चालनमा छन् । सामाखुसी यातायात प्रालिले ३० वटा विद्युतीय माइक्रो सञ्चालन गरेको छ । राष्ट्रिय माइक्रोले ४९ र माउन्ट एभरेस्ट प्रालिले २५ वटा विद्युतीय सवारी सञ्चालन गरेको छ । काठमाडौँका हरेक रुटमा विद्युतीय माइक्रो सञ्चालन भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै कम्पनीको ध्यान विद्युतीय सवारीमै गएको छ । यसले तीव्रता पायो भने अबको आठ/दस वर्षमा ३०/४० प्रतिशत विद्युतीय सवारीसाधन हुन सक्ने देखिन्छ ।”

You May Also Like

More From Author

+ There are no comments

Add yours