२७ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को विषयमा आफूलाई जोडेर आएको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
मन्त्री चौधरीले शुक्रबार विज्ञप्ती जारी गर्दै एनपीएलको पहिलो संस्करणमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) को आन्तरिक आर्थिक कारोबार लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको विषय छानबिन गर्नका लागि पत्राचार भए बमोजिम नियमानुसार गठित छानविन कार्यदल मार्फत छानबिन भएको, सो कार्यदलले तयार गरेको छानविन प्रतिवेदन मिति २०८२ असार २५ गते बुझाइसकेको बताएका छन् । साथै यस्तो अवस्थामा यो विषयलाई अतिरिन्जित गर्नु दु:खद भएको उनले लेखेका छन् ।
‘नियमानुसार गठित छानविन कार्यदल मार्फत छानबिन भएको, सो कार्यदलले तयार गरेको छानविन प्रतिवेदन मिति २०८२/०३/२५ गते बुझाइसकेको अवस्थामा उक्त विषयलाई अतिरन्जित गर्ने कार्य हुनु दुःखद हो । कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने छ ।’ मन्त्री चौधरीले विज्ञप्तीमा लेखेका छन् ।
तर मन्त्री चौधरीले प्रतिवेदन असार २५ गते बुधबार नै प्रतिवेदन बुझाएको उल्लेख गरेपनि छानबिन कार्यदलले प्रतिवेदन भने आज शुक्रबार बुझाउने मन्त्री चौधरी स्वयंमले बताएका थिए ।
साथै मन्त्री चौधरीले एनपीएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको र रोक्नका लागि आफ्नो संलग्नता भएको भनी प्रचार भएको दावी गरेको छन् ।
‘एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो,’ चौधरीले लेखेका छन्, ‘एनपिएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टीमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भुमिका नखेलि दिनु हुन सम्बद्ध सबैमा अनुरोध गर्दछु ।’
युवा तथा खेलकुद मन्त्री चौधरीको एकल निर्देशमा एनपीएलको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषदकी सदस्य रन्जना प्रधानको संयोजकत्मा छानबिन कार्यदल बनाएका थिए । उक्त कार्यदलले राखेपको लेटरहेडमै छानबिन कार्य नसकिएसम्म एनपीएलको काम नगर्नु नगराउनु भनी क्यानलाई पत्र लेखेपछि पछिल्ला केही दिनमा नेपाली क्रिकेटमा तरंग पैदा भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहीबार हाई परफरमेन्स सेन्टरको उद्घाटन पछि खेलाडी सम्बोधन कार्यक्रममा एनपीएल नेपालको गौरव भएको र यसलाई भव्य तयारीका साथ अघि बढाउन निदर्शन दिएका थिए । त्यसको भोलीपल्ट मन्त्री चौधरीले विज्ञप्ती जारी गर्दै आफ्नो भनाई सार्वजनिक गरेका छन् ।


+ There are no comments
Add yours