२५ असार, काठमाडौं। नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बीमित हित संरक्षणको उद्देश्यसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष शरद ओझाले बीमा इतिहासमा पहिलो पटक बीमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए। यसका साथै उनले बीमा नीतिले बीमा उद्योग, बीमक र बीमितलाई प्राधिकरण कुन दिशामा जाँदैछ भन्ने कुराको जानकारी दिने बताए।
उनले वार्षिक नीति तथा कार्यक्रमले प्राधिकरणको प्राथमिकता र मार्गनिर्देशन स्पष्ट हुने बताए । त्यस्तै उनले बीमा नीति कार्यान्वयन हुने स्पष्टता व्यक्त गरे ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रलाई प्रक्षेपित रूपमा अगाडि बढाउनका लागि मार्गदर्शकका रूपमा वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याउने अभ्यास शुरू गरिएको जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणले प्रतिस्पर्धी एवम् विश्वसनीय बीमा प्रणालीको विकास तथा विस्तार गरी बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्ने उद्देश्यका ‘आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम’ ल्याएर नयाँ अभ्यासको सुरूवात गरेको उनले बताए ।


+ There are no comments
Add yours