२४ असार, काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितहरुको उद्दारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अवतरण गरेको छ ।
चिनियाँ अधिकारीहरुले विना अनुमति हेलिकोप्टर आएको भन्दै अवरोध गरेको जिल्ला प्रशासन कार्यालय, रसुवाका एक अधिकारीले बताएका छन् । यसबारे गृह, रक्षा र परराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिइएको बताइएको छ ।
तर, सैनिक प्रवक्ता राजाराम बस्नेतले भने चिनियाँ भूमिमा फसेका नेपाली नागरिकहरुको उद्दारका लागि हेलिकोप्टर त्यसतर्फ गएको बताए । ‘उद्दारका लागि जाने क्रममा मेकानिकल फल्ट भएर त्यहाँ अवतरण गरेको हो’, बस्नेतले भने, ‘मर्मतपछि फर्किन्छ ।’
मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता छन् । नुवाकोटको त्रिशुली किनारमा २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ५५ जनाको उद्दार गरेका छन् ।
बिहानैदेखि नेपाली सेनाको दुईवटा हेलिकोप्टर खोज तथा उद्दारमा परिचालित थियो । नेपाली सेनाको हेलिकोप्टरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल लगायत समेत रसुवागढी पुगेका थिए ।


+ There are no comments
Add yours