१७ असार, काठमाडौं । इरान–इजरायल युद्धले अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यको असर नेपाली बजारमा पनि परेको छ । नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
२ साता अघि इरान र इजरायलबीच युद्ध भएपछि त्यसको असर नेपाली बजारमा देखिएक हो । इन्डियन आयल कर्पोरेसनले आगामी १५ दिनका लागिका बढाएर मूल्य तोक्दा नेपालमा पनि भाउ बढाउनुपरेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा समान ४ रुपैयाँ प्रतिलिटरले वृद्धि भएको छ । यस्तै, आन्तरिक हवाई इन्धन ७ र त्रिभुवन विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय विमानका लागि प्रतिकिलोलिटर ५१ डलरले मूल्य बढाइएको छ ।
‘दुई देशबीचको युद्धको कारण विश्रव्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने देखिएको छ । विश्रव्यापी मन्दीबाट नेपाल अछुतो नरहने विज्ञहरुको भनाई छ ।
यस्तो अवस्थामा खाडी मुलुकबाट आउने रेमिटेन्स प्रभावित हुने र युद्धले खाडी मुलुकमा नेपाली श्रमिकहरुको आवागमनलाई प्रभावित बनाउँने विज्ञहरु बताउँछन् । यो युद्धले विश्र अर्थतन्त्रलाई असर पर्ने भएकोले नेपालको अर्थतन्त्र पनि अछुत नरहने अर्थविद पोषराज पाण्डेले बताएका छन् ।
११ महिनामा कति आयात भए पेट्रोलियम पदार्थ
चालु आवको ११ महिना (साउन–जेठ) मा डिजेल मात्र १३ लाख १२ हजार ९०५ किलोलिटर १ खर्ब १५ अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आयात भएको थियो । त्यस्तै, पेट्रोल ६ लाख ८१ हजार ४८४ किलोलिटर ५८ अर्ब ५८ करोड ९० लाख ८४ हजार रुपैयाँको आयात भएको हो ।
त्यसैगरी, एलपिजी ग्यास पनि बढी मात्रामा आयात भएको छ । ११ महिनामा ५० करोड ६६ लाख ७९ हजार २६७ किलो आयात भएको छ । उक्त परिमाणमा आयात हुँदा ५७ अर्ब ३६ करोड ७७ लाख ५९ हजार रुपैयाँको एलजिपी ग्यास आयात भएको हो । भने एटीएफ १८ अर्ब ४५ करोड ५० लाख ५४ हजार रुपैयाँ बराबरको ७ हजार ३५८ किलो आयात भएको हो ।


+ There are no comments
Add yours