युट्युब भिडिओलाई लिएर पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

१६ असार, काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय (साइबर) अपराधसम्बन्धी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले पाठकले आफ्नो युट्युब च्यानलमार्फत एक व्यक्तिको चरित्रहत्या गरेको र घृणा फैलाएको आरोप लगाउँदै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत सजायको माग दाबीसहित अभियोग पत्र दर्ता गरेको हो ।

पाठकले सञ्चालन गरेको ‘टफ टक विथ दिलभूषण पाठक’ (TOUGH talk With Dil Bhusan Pathak) नामक युट्युब च्यानलमा ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा एक भिडियो प्रकाशन गरेका थिए । उक्त भिडियोमा पाठकले पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाका छोरा जयवीर सिंह देउवाको फोटो राखेका थिए ।

पीडित परिवर्तित नाम ‘साइबर ब्युरो ५९ (२०८१/०८२) ले आफ्नो चरित्रहत्या भएको, घृणा र द्वेष फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धानले उक्त युट्युब च्यानलका सञ्चालक/प्रस्तोता दिलभूषण पाठक नै भएको र उनले भिडियोमार्फत पीडितको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको निष्कर्ष निकालेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुरमा सजायको माग गरेको छ । उक्त दफामा कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउन र कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ ।

अभियोग पत्रमा प्रेस काउन्सिल नेपालले पाठकको उक्त युट्युब च्यानललाई आधिकारिक सञ्चारमाध्यमका रूपमा सूचीकृत नगरेको जानकारी दिएको पनि जनाइएको छ ।

मुद्दामा प्रमाणका रूपमा भिडिओसहितको डीभीडी, स्क्रिनसट र साक्षीको बयानलाई आधार मानिएको छ । अभियोग पत्रमा पाठकलाई ‘फरार’ देखाई अदालतबाट पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ । यो मुद्दा सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले १६ असारमा अदालतमा दर्ता गराएका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours