इन्स्पेक्टरको जन्मदिन पार्टीमा बलात्कार आरोपी, एसपीको नेतृत्वमा छानबिन सुरु

११ असार, काठमाडौं । जबरजस्ती करणीको मुद्दामा सफाइ पाएलगत्तै आरोपीले अनुसन्धान अधिकृतसँगै पार्टी मनाएको विषयमा छानबिन सुरु भएको छ ।

प्रारम्भिक दृष्टिकोणमै प्रहरीको आचरण विपरितको कार्य भएको देखिएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको हो ।

प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोलीलाई जिम्मेवारी दिइएको छ ।

‘यो टोलीले भोलि सप्तरी पुगेर विस्तृत छानबिन थाल्नेछ, त्यसपछि कमजोरी देखिए कारबाहीका लागि सिफारिस गर्नेछ’, उनले भने ।

आर्थिक विषयमा छानबिनका लागि भन्दै सप्तरीका एसपी ढकेन्द्र खतिवडा यसअघि नै जिम्मेवारीबाट हटाइएका छन् । त्यसपछि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीएसपी जितेन्द्रकुमार बस्नेत आफैं विवादमा तानिएका छन् ।

बलात्कारको मुद्दामा सफाइ पाएको दोस्रो दिनमा राजविराज नगरपालिका–६ का आकाश आदर्श अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक मनिष श्रेष्ठसँग देखिएका थिए । उनको जन्मदिन भन्दै डीएसपी बस्नेत कोठामा पार्टी आयोजना गरिएको थियो ।

अनुसन्धान अधिकृतको कोठामा बलात्कार आरोपी भएको भिडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो । यसपछि प्रहरी प्रधान कार्यालयले समेत चासो देखाएको थियो ।

यो घटनामा प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलले २० कात्तिक २०८१ मा अदालतमा मुद्दा दायर गरेको थियो । ४ जेठमा जिल्ला न्यायाधीश रोमनाथ अधिकारीको इजलासले सफाइ दिएको थियो ।

त्यसको दुई दिनपछि अनुसन्धान अधिकृतसँगै उनी ‘बर्थ डे’ पार्टी मनाइरहेको तस्वीर सार्वजनिक भएको थियो ।

‘प्रहरीले मुद्दाको कुनै पक्षसँग अतिरिक्त लाभ वा सामिप्यता देखाउने कुरा सवभाविक होइन, के उद्देश्यले त्यसो गरियो भन्ने विषयमा छानबिन गर्न समितिलाई जिम्मेवारी दिएको छु’, डीआईजी चर्तुवेदीले भने, ‘अझ अदालतमा मुद्दा विचाराधीन नै रहेका बेला त्यस्तो भेटघाट भएको छ भने त्यो झनै अशोभनीय र नीति विपरीत भएकाले विभागीय कारबाही हुन्छ ।’

एक महिनाअघिकै घटना भएपनि हालसम्म यो विषय सार्वजनिक भपछि छानबिन सुरु भएको हो । इन्स्पेक्टर श्रेष्ठको यसअघि नै चितवनमा सरुवा भइसकेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours