०९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिलाई अझै पनि छुट्टै क्षेत्रका रूपमा मात्रै हेर्न नहुने बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले एउटा क्षेत्रको रुपमा मात्र नहेरी अब आईटीलाई सम्पूर्ण क्षेत्रसँग जोडेर हेर्ने बेला आएको बताएका हुन् ।
‘नेपालमा हामी छुट्टै कृषिको कुरा गरिरहेका हुन्छौँ । स्वास्थ्य, शिक्षाको छुट्टाछुट्टै कुरा गरिरहेका छौँ । मानौँ, त्यो चाहिँ छुट्टै संसार हो,’ थापाले भने, ‘अनि आईटीमा काम गरिरहेकाको चाहिँ अर्को छुट्टै संसार भन्ने ठान्छौँ । त्यो हैन । आईटी भनेको त कृषि, स्वास्थ्य, शिक्षामा कसरी प्रविधि लाने भन्ने विषय हो ।’
जस्तो, ‘शिक्षा क्षेत्रमा गणित र विज्ञानमा ठूलो समस्या छ भनेपछि सायद प्रविधिले त्यसलाई सहज बनाउन सक्छ कि ? यसबीचको खाडल भर्न सक्छ कि ? हाम्रो स्वास्थ्यमा जनशक्तिको एकदम ठूलो समस्या छ भनेपछि त्यहाँ प्रविधि प्रयोग गर्न सक्छौँ कि ? भनेर सोच्ने बेला आएको’ थापाले बताए ।
‘सेक्टर छुट्टाएर हैन, यी सबैलाई एकैठाउँ राखेर काम गर्नुपर्छ । छलफल गर्नुपर्छ,’ थापाले भने ।


+ There are no comments
Add yours