मन्थलीको ६ र ७ वडा जोड्ने निर्माणाधीन पक्की पुल दोस्रोपटक भाँचियो

०८ असार, काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको छ ।

मन्थलीको वडा नम्बर ६ कुनौरी र वडा नम्बर ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान भाँचिएको हो ।

कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आइतबार बिहान फेरि भाँचिएको हो ।

आइतबार बिहान पुल अनुगमनमा पुगेका रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पुलको एकातर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको जानकारी दिए । यस अघिको अनुगमनमा नै कैफियत देखिएपछि पुनर्निर्माण गर्न सुझाव दिएको तर त्यसैलाई मर्मत गर्न खोज्दा भाँचिएको उनले बताए ।

यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ । डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ ।

पुल निर्माण गर्न भ्याट र पीएस आइटम बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त रकममध्ये ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेको छ ।

यो पुल निर्माण पश्चात् लामो दुरीमा मन्थली खुर्कोट हुँदै काठमाडौंसम्म आउन र छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौलीसहित खाँडादेवी, दोरम्बा र शैलुङ गाउँपालिकाका विभिन्न वडामा पुग्न सहज हुने थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours