असार पहिलो सातासम्म कोशी प्रदेशमा ५ हजार हेक्टरमा धान रोपाई

०६ असार, काठमाडौँ । असार पहिलो सातासम्म कोशी प्रदेशमा ५ हजार ९०८ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । २ लाख ७६ हजार ३८६ हेक्टरमा धान खेती हुनेमा २.१४ प्रतिशत धान रोपाई भएको हो ।

प्रदेशका मध्य पहाडका जिल्लामा ७.०७ प्रतिशत, उच्च पहाडका जिल्लामा २.३९ प्रतिशत र तराईका जिल्लाहरुमा ०.३९ प्रतिशत स्थानमा रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

गत वर्ष सोही अवधिमा कोशी प्रदेशका सम्पूर्ण क्षेत्रमा ५.५६ प्रतिशत धान रोपाई भइसकेको थियो । गत वर्षको तुलनामा यो वर्ष ३.४२ प्रतिशत कम धान रोपाई भएको छ ।

निर्देशनालयका अनुसार मध्य पहाडका ८ जिल्लाहरु (ईलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ, उदयपुर) मा ६७ हजार ७१७ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा ४ हजार ७८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ ।

त्यसैगरी, उच्च पहाडी जिल्लाहरु (ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु) मा १५ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा ३६७ हेक्टर क्षेत्रफमा मात्र धान रोपाइ भएको छ ।

तराईका जिल्लाहरु (झापा, मोरङ र सुनसरी) मा १ लाख ९३ हजार २८५ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा जम्मा ७५४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours