०५ असार, काठमाडौं। नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ । गत आर्थिक वर्ष (२०८०/८१) को १० महिनाको तुलनामा चालु आव (२०८१/८२) को सोही अवधिमा यार्सागुम्बा २१ करोड रुपैयाँको मात्र निर्यात भएको हो ।
साउनदेखि बैशाखसम्मको अवधिमा २१ करोड १८ लाख ४५ हजार रुपैयाँको मात्र यार्सागुम्बा निर्यात भएको छ । गत आवको सोही अवधिमा ६२ करोड ६३ लाख ८९ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । चालु आवको १० महिनामा ४९९ केजी यार्सा निर्यात भएको छ । गत आवको सो अवधिमा १ हजार २८६ केजी यार्सा निर्यात भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ६८३ केजी यार्सा ४४ करोड ३१ लाख ९१ हजार रुपैयाँमा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । आव २०७८/७९ मा ५०३ केजी यार्सा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँमा निर्यात भएको थियो भने आव २०७७/७८ मा २६१ केजी यार्सा १५ करोड ७६ लाख २५ हजार रुपैयाँमा निर्यात भएको थियो ।
पछिल्लो समय हिमाली भेगका कयौँ मानिसहरुको आयआर्जनको प्रमुख स्रोतको रुपमा रहेको यार्सागुम्बाको उत्पादन नै घट्दै गएको छ । यार्साको उत्पादन नै घटेकाले त्यसको असर निर्यातमा परेको यार्सा व्यवसायी संघका अध्यक्ष निराजन बहादुर चलाउनेको दाबी छ ।
पछिल्लो समय चीन र भारतले वातावरण अनुकुल बनाएर वंशाणुबाट यार्सा उत्पादन गर्न थालिसकेका छन् । कृतिम रुपमा उत्पादन गरेर यी मुलुकहरु ठूलो मात्रामा निर्यातकर्ता बनिसकेका छन् । जसको कारण पनि हाम्रो देशमा उत्पादन भएका यार्साको निर्यातमा कमि आएका उनको भनाई छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट हङकङ, चिन, सिँगापुर, कम्बोडियाँ, अमेरिका, यूके, मलेसिया लगायत विभिन्न देशहरुमा हिमाली जडीबुटी यार्सागुम्बा निर्यात हुँदै आएको छ ।
चालु आवको १० महिनामा सबैभन्दा धेरै हङकङमा निर्यात भएको छ । हङकङमा ११ करोड २१ लाख १३ हजार रुपैयाँको १७७ केजी यार्सागुम्बा निर्यात भएको छ ।
त्यस्तै, १४४ केजी यार्सागुम्बा चिन निर्यात भएको छ । सो परिमाणको यार्साबाट ३ करोड ८४ लाख ३९ हजार रुपैयाँ आम्दानी भएको थियो । सिँगापुरमा २३ केजी यार्सा १ करोड ८८ लाख ४१ हजार रुपैयाँमा निर्यात भएको छ ।
त्यसैगरी, १ करोड १३ लाख १८ हजार रुपैयाँको बराबरको ५९ केजी यार्सा कम्बोडिया निर्यात भएको छ भने २२ केजी यार्सा अमेरिका निर्यात भएको छ । सो परिमाणको यार्साबाट १ करोड १ लाख ९० हजार रुपैयाँ आम्दानी भएको हो ।
त्यसैगरी, २२ केजी यार्सा ५९ लाख ३१ हजार रुपैयाँमा यूके निर्यात भएको छ भने १२ केजी यार्सा ३९ लाख २१ हजार रुपैयाँमा मलेसिया निर्यात भएको हो ।


+ There are no comments
Add yours