०४ असार, काठमाडौँ । स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ ।
नदीको ४ ठाउँमा गरी २ सय ३५ मिटर तारजाली र ढुङ्गाको प्रयोग गरी तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माण गरिएपछि १ सय ७५ बढी परिवारको बाढीबाट सुरक्षा भएको वडा अध्यक्ष चक्र बहादुर खड्काले बताए ।
“स्याली नदीको बाढीले गर्जमुनी, खजुवा, बुढीनाला क्षेत्रमा बसोवास गर्ने बासिन्दाको जग्गा कटानी गरी क्षति पु¥याउँदै आएको थियो”, उनले भने, “सङ्घीय र प्रदेश सरकारको १ करोड ४ लाख बजेटमा भूक्षय हँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरेका छौँ ।”
तटबन्ध निर्माण भएपछि अब जग्गा नदीको बाढीले कटानी गरी बगाउने चिन्ता हटेको स्थानिय रमेश विकले बताए । “वर्सेनि नदीको बाढीले जग्गा कटानी गर्दा तटीय क्षेत्रका बासिन्दाले निकै समस्यामा थिए”, उनले भने, “तटबन्ध निर्माणले जग्गा मात्रै जोगिएको छैन, नदीकै कारण विस्थापनमा पर्ने सम्भावना टरेको छ ।”
थोरै रकमले तटबन्ध निर्माण हुन सक्ने अवस्था नभएपछि सङ्घीय र प्रदेश सरकारका सांसदले यस क्षेत्रको अनुगमन गरेपछि बजेटको व्यवस्था मिलाइ दिएको वडा सदस्य जयराज पाण्डेय बताउछन् ।
वडाध्यक्ष खड्काका अनुसार तटबन्ध निर्माणको कार्यसँगै बैजनाथ आधारभूत विद्यालय राजपुर खजुवामा ५० लाख रुपैयाँको लागतमा २ सय मिटर लम्बाइको पर्खाल निर्माण, वडा कार्यालयमा ३५ लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण, शिवशक्ति माध्यमिक विद्यालयमा २० लाख रुपैयाँको लागतमा पर्खाल निर्माण र गर्जमुनिमा ३५ लाख रुपैयाँको लागतमा भगवतीको मन्दिरसँगै गेट निर्माणको कार्य गरिएको छ ।


+ There are no comments
Add yours