एभरेस्ट बैंक र चिनो हाइड्रोपावरबीच १ अर्ब ३६ करोडको वित्तीय व्यवस्थापन सहमति

०४ असार, काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको नासोङ गाउँपालिकामा ७.८३ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माणका लागि १ अर्ब ३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।

सहमतिपत्रमा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित हो । परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ र यसका लागि चिनियाँ ठेकेदारलाई ईपीसी मोडेलमा ठेक्का दिइएको छ ।

उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।

नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता वैशाख २०८२ मा सम्पन्न भइसकेको छ ।

भारतको पञ्जाब नेसनल बैंकसँगको संयुक्त साझेदारीमा स्थापित एभरेस्ट बैंकमा हाल १ सय ३२ शाखा, ४ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ३२ राजस्व संकलन केन्द्र र १ सय ६७ एटीएमबाट १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours