तेस्रो एमबिएएन स्पोर्ट्स मिट हुँदै

०३ असार, काठमाडौं । मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर संघ (एमबिएएन)ले तेस्रो एमबिएएन स्पोर्ट्स मिट २०२५ आयोजना गर्ने भएको छ। संघका अध्यक्ष रामेन्द्र रायमाझीका अनुसार खेलकुद कार्यक्रम यहि असार ६ र ७ गते काठमाडौंको हाडिगाउँस्थित धन्वन्तरी स्पोर्ट्स फुटसलमा सञ्चालन हुनेछ।

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दुई दिन चल्ने प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिसका खेल हुने जानकारी दिएको छ। स्पोर्ट्स मिटमा संघमा आबद्ध २६ मध्ये २२ वटा मर्चेन्ट बैंकहरूले भाग लिने भएका छन्।

फुटसलमा पुरुष र महिला दुवैतर्फ प्रतियोगिता हुनेछ। पुरुषतर्फ १५ टिम र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ विजेता टिमले नगद ८० हजारसहित शिल्ड र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ।

महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन्। त्यस्तै, पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ता प्रत्येकले नगद १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

ब्याडमिन्टनतर्फ पुरुष डबल्स, महिला डबल्स र भेट्रान्स डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिलातर्फका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन्। भेट्रान्स डबल्सतर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा पुरुषतर्फ ६, महिलातर्फ ९ र भेट्रान्सतर्फ ५ टिमले भाग लिएका छन्।

टेबलटेनिसमा पनि तीन विधामा प्रतिस्पर्धा हुनेछ—पुरुष सिंगल्स, महिला सिंगल्स र भेट्रान्स सिंगल्स। पुरुष सिंगल्समा २५, महिला सिंगल्समा ६ र भेट्रान्स सिंगल्समा ७ टिमले भाग लिएका छन्।

पुरुष र भेट्रान्स सिंगल्सतर्फ विजेताले समान १५ हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछन्। महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउनेछन्।

स्पोर्ट्स मिटको उद्देश्य मर्चेन्ट बैंकहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई एउटै ठाउँमा भेला गराई आपसी चिनजान बढाउनु र खेलकुदको माध्यमबाट सबैलाई स्वस्थ बनाउनु रहेको जनाइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours