२५ जेठ, काठमाडौँ । क्यानडामा आयोजना हुन लागेको जी–७ (सात राष्ट्रहरूको समूह) सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरिएको विषयमा क्यानडामा प्रश्न उठेको छ ।
शुक्रबार मात्रै क्यानडका प्रधानमन्त्री मार्क कार्नीले भारतीय प्रधानमन्त्री मोदी जी– ७ सम्मेलनमा निम्ता गरेको विषयमा क्यानडाको राजनीतिक दल एनडीपी, विश्व सिख संगठनले प्रश्न उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, सबैभन्दा बढी जनसङ्ख्या भएको देश र विश्वव्यापी आपूर्ति शृङ्खलाको केन्द्र रहेको बताउँदै कार्नीले साझेदारहरूसँगको छलफलमा, ऊर्जा, खनिजहरू जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्न आमन्त्रित गरिएको बताए ।
एक पत्रकार सम्मेलनमा उनले भने, ‘हामी द्विपक्षीय स्तरमा कानूनको कार्यान्वयनको बारेमा छलफल गर्ने सहमतिमा पुगेका छौं र यस दिशामा वार्ता अलि अगाडि बढेको छ। जबाफदेहिताको मुद्दामा पनि सम्झौता भएको छ। मैले प्रधानमन्त्री मोदीलाई निम्तो दिएको छु र उहाँले यसलाई स्वीकार गर्नुभएको छ।’
यता भारतीय प्रधानमन्त्रीलाई सम्मेलनमा आमन्त्रण नगरिएको विषयले चर्चा पाएको थियो । कांग्रेस नेता जयराम रमेशले जुन ३ मा सामाजिक सञ्जाल ‘एक्स’ एक पोस्ट गर्दै भारतीय प्रधानमन्त्रीलाई नबोलाइएकोमा यो ठुलो कूटनीतिक गल्ती भएको बताएका थिए ।
२०२३ मा खालिस्तान समर्थक सिख नेता हरदीप सिंह निज्जरको हत्या पछि भारत र क्यानडाबिचको सम्बन्ध खटपट आएको थियो ।


+ There are no comments
Add yours