उत्तराखण्ड: अंकिता भण्डारी हत्यामा रिसोर्ट मालिकसहित ३ जनालाई आजीवन कारावास

१७ जेठ, काठमाडाैँ । उत्तराखण्डको अंकिता भण्डारी हत्या प्रकरणमा पौडी गढवाल जिल्ला अदालतले शुक्रबार प्रमुख प्रतिवादी पुलकित आर्यसँगै सौरभ भास्कर र अंकित गुप्तालाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ।

अदालतले अंकिताको परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ। वनन्तरा रिसोर्टका मालिक पुलकित आर्य भारतीय जनता पार्टीका पूर्वनेता तथा पूर्वराज्यमन्त्री विनोद आर्यका छोरा हुन्।

उत्तराखण्डको पौडी गढवाल जिल्लाको दोभ श्रीकोटकी निवासी अंकिता भण्डारी लक्ष्मण झुला प्रहरी चौकी क्षेत्र र ऋषिकेशको चिलाको बीचमा रहेको वनन्तरा रिसोर्टमा रिसेप्सनिस्ट थिइन्।

२०२२ सेप्टेम्बरमा अंकिता हराएको रिपोर्ट गरिएको थियो र त्यसपछि दुई दिनपछि चिला नहरमा उनको शव भेटिएको थियो।

हाल पुलकित आर्य अल्मोडा जेलमा, अंकित गुप्ता देहरादुन र सौरभ भास्कर टिहरी जेलमा छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूविरुद्ध युवतीको हत्या, प्रमाण नष्ट गर्ने र अनैतिक देह व्यापार (निवारण) ऐन अन्तर्गत मुद्दा चलाइएको थियो।

अदालतमा मुद्दाको सुनुवाइ चलिरहँदा अंकिताका आमाबाबु र तीन प्रतिवादी पनि उपस्थित थिए।

अदालतको फैसलापछि सञ्चारकर्मीसँग कुरा गर्दै अंकिताकी आमा सोनी देवीले असन्तुष्टि जनाइन्।

उनले भनिन्, ‘उनीहरूलेहाम्री छोरीसँग यति नराम्रो व्यवहार गरे र हाम्रो जीवन नर्क बनाए। म जिउँदै छँदा उनीहरूलाई फाँसी दिइएको भए म सन्तुष्ट हुने थिएँ। छोरी गुमाउनुको पीडा एउटी आमाले मात्र बुझ्न सक्छिन्।’

अंकिताका बुबा वीरेन्द्र भण्डारी पनि अदालतको फैसलाबाट सन्तुष्ट देखिएनन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जसरी उनीहरूले मेरी निर्दोष छोरीलाई मारे, हामी जीवित छँदै उनीहरूलाई फाँसी दिनुपर्थ्यो। रिसोर्ट भत्काइएको थियो र प्रमाण जानाजानी नष्ट गरिएको थियो। हामी यो निर्णयविरुद्ध उच्च अदालत जानेछौँ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours