वर्ल्डलिंकको ‘बिट द स्पिड’ सिजन २ सुरु, तीव्र गतिका बलरहरूको खोजी

१२ जेठ, काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो चर्चित क्रिकेट प्रतिभा खोज अभियान ‘बिट द स्पिड’ सिजन २ औपचारिक रूपमा सुरु गरेको छ ।

तीव्र गतिका बलरहरू पहिचान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान ८ मे २०२५ मा जनकपुरबाट सुरु भएको हो । हालसम्म यो अभियानले १७ सहर पार गरिसकेको छ । यस अभियानले नेपाली क्रिकेटमा उत्साह र प्रतिस्पर्धाको नयाँ लहर ल्याएको कम्पनीको भनाइ छ ।

सन् २०२४ मा सुरु गरिएको यो अभियान वर्ल्डलिंकले ग्रामीण तथा सहरी क्षेत्रका प्रतिभाशाली तीव्र गतिका बलर खोजी र प्रोत्साहन गर्न प्रारम्भ गरेको थियो । यसले उनीहरूलाई पहिचान मात्र होइन, व्यावसायिक क्रिकेटतर्फको यात्रामा वास्तविक अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

यस वर्ष अभियान २४ सहर लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दीवास, मलंगवा, गौर, वीरगञ्ज, हेटौंडा, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौंमा पुग्ने छ ।

अभियानले अहिलेसम्म बलिङ गुणस्तरमा उल्लेखनीय सुधार देखाएको छ । अधिकांश सहभागीले १ सय २० किलोमिटिर प्रतिघण्टा भन्दा बढी गति निकालिरहेका छन् । हालसम्मको सर्वाधिक गति १ सय ३१ किलोमिटर प्रतिघण्टा रहेको छ । जुन पछ्याउँदै १ सय २५ किलोमिटर प्रतिघण्टा पनि रेकर्ड गरिएको छ । यो गत वर्षको तुलनामा निकै सुधार हो।

प्रत्येक सहरमा एक उत्कृष्ट गति निकाल्ने बलरलाई स्थानीय विजेता घोषित गरिन्छ । ती २४ स्थानीय विजेतामध्ये सर्वाधिक १० जना तीव्र गतिका बलरलाई काठमाडौंमा आयोजना हुने एक हप्ते प्रशिक्षण क्याम्पमा सहभागी गराइने छ ।

क्याम्पमा उनीहरूलाई पूर्वराष्ट्रिय कप्तान तथा हाल नेपाल ‘ए’ का प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ‘ए’ का बलिङ प्रशिक्षक कलाम अलीले तालिम दिनेछन् । अन्त्यमा तीमध्येबाट उत्कृष्ट विजेता घोषणा गरिने छ ।

बिट द स्पिड सिजन २ को मुख्य विजेताले १ लाख नगद पुरस्कारका साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको सम्पूर्ण खर्च वर्ल्डलिंकले बेहोर्ने तीव्र बलिङ तालिम पनि पाउनेछन् ।

पहिलो र दोस्रो रनरअपले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अभियानबारे वर्ल्डलिंकका प्रवक्ताले भने, ‘यो अभियान गतिमात्र होइन, अवसरको बारेमा हो । हामी विश्वास गर्छौं, प्रतिभा जुनसुकै कुनाबाट आउन सक्छ । बिट द स्पिडमार्फत हामी काँचो प्रतिभा र व्यावसायिक अवसरबीचको दुरी घटाउन कटिबद्ध छौं ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours