कोशी प्रदेश सरकारलाई माओवादीको सुझावः वितरणमुखी होइन परिणाममुखी नीति बनाऊ

३१ वैशाख, विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले परिणाममुखी नीति कार्यक्रम निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर माओवादी केन्द्रले परिणामुखी नीति तथा कार्यक्रम बनाउन सुझाव दिएको हो । नीति तथा कार्यक्रम निर्माणको तयारीमा रहेका मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेताहरूलाई छलफलका लागि बोलाएका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले उद्यमशीलता, उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर नीति कार्यक्रम निर्माण गर्न सरकारलाई सुझाव दिएको जानकारी दिए ।

माओवादी केन्द्रले युवाहरूलाई उद्यमशील बनाउने, आइटी क्षेत्रलाई विशेष प्राथमिकता दिने, १४ वटा नमूना आवासीय विद्यालय निर्माण गर्ने, प्रदेश मातहतको अस्पतालको पूर्वाधार, स्वास्थ्य उपकरण, जनशक्तिको गुणात्मक सुधार गर्ने, बसाईंसराइ रोक्न पहाड र ग्रामीण क्षेत्रकेन्द्रित विशेष प्याकेज निर्माण गर्न सुझाव दिएको छ ।

रुग्ण र अलपत्र आयोजनालाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने, प्रदेशका ५६ वटा निर्वाचन क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ र सडकलाई प्राथमिकता राख्न सुझाव दिएको हो ।

त्यस्तै, कृषिमा प्रोजेक्ट ऋण, स्टार्टअप ऋण, कृषि उत्पादन र प्रशोधन र बजारीकरणमा सहयोग गर्ने नीति बनाउन सुझाव दिएको छ । विपद्बाट क्षतिग्रस्त भएका पूर्वाधार पुनर्निर्माण गर्ने, शहीद तथा बेपत्ता परिवारका लागि बाँकी क्षतिपूर्ति दिने र आवास निर्माणको विगतको कार्यक्रमलाई निरन्तरता दिन पनि सुझाव दिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours