चीन र बङ्गलादेशका व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

२७ बैशाख, पाल्पा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासङ्घका अध्यक्ष ढकालले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकाले लगानीको लागि आग्रह गरे ।

उनले भने, “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु ।”

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासङ्घ तयार रहेकोसमेत जानकारी गराए । उनले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताका लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल मात्र नभएर आपसी सहकार्य र व्यापार प्रवर्द्धनको उपर्युक्त माध्यम भएको बताए ।

यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासङ्घमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ ।

यही वैशाख २५ गतेदेखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन यतिबेला चिनियाँ र बङ्गलादेशका व्यवसायीको समूह नेपालमा रहेको छ । आज करिब पाँच हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours