मोदी घरेलु असन्तोषबाट ध्यान मोड्न पाकिस्तानमाथि आक्रमण गरिरहेका छन् : पाकिस्तानका रक्षामन्त्री

२६ वैशाख, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इस्लामाबादले तनाव कम गर्न चाहे पनि भारतले सीमा उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।

अल जजिरासँग कुरा गर्दै आसिफिले ड्रोन हमला र ७८ पटक युद्धक विमानद्वारा आकाशीय सीमा उल्लंघन गर्ने भारतको आक्रमणकारी गतिविधिले गर्दा संघर्ष थप नजिकिएको बताए ।

आसिफले पाकिस्तानका सेनाले पाँच भारतीय लडाकु विमान खसालिएको दाबी गरे पनि भारतीय क्षतिका यथार्थपरक विवरण पुष्टि गर्न नसकेको बताए। उनले कश्मीरको नियन्त्रण रेखामा झडपहरू जारी रहेको पनि उल्लेख गरे।

पाक रक्षामन्त्री आसिफले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशभित्रको असन्तोषबाट ध्यान मोड्नका लागि यस प्रकारको सैन्य आक्रोश उत्पन्न गरिरहेका आरोप लगाए ।

रक्षामन्त्री आसिफले भारतले कथित रूपमा रहेको आतङ्ककारी शिविरहरूबारे गरेको दाबीमा अन्तर्राष्ट्रिय स्वतन्त्र छानबिनको प्रस्ताव पाकिस्तानले अझै पनि खुला राखेको उल्लेख गरे।

यसैबीच पाकिस्तानका रक्षा मन्त्री आसिफले बीबीसीसँग कुरा गर्दै पाकिस्तानले व्यावसायिक एयरलाइन्सहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न सल्लाह दिएको बताएका छन्।

उनले यस्तो तनावपूर्ण अवस्थामा ‘कुनै मिसाइल वा हवाई फायरिङ’ को चपेटमा पर्न सक्ने जोखिम रहेकोले सामान्य नागरिकको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।

भारत–पाकिस्तानबीच बढ्दो तनावको बीचमा धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले पाकिस्तानको हवाई क्षेत्रबाट उडानहरू केही समयका लागि स्थगित गरिसकेका छन्।

एमिरेट्स एयरलाइन्सले १० मेसम्मका लागि पाकिस्तान गन्तव्यका सबै उडानहरू रोक्ने निर्णय गरेको जनाएको छ।

लुफ्थान्सा एयरलाइन्सले यसै साता बीबीसीसँग कुराकानी गर्दै ‘अर्को सूचना नआएसम्म’ पाकिस्तानको हवाई क्षेत्र हुँदै हुने उडानहरू स्थगित गरेको पुष्टि गरिसकेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours