उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर मन्दिर

राजेन्द्र तिवारी

२४ बैशाख, काठमाडाैँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र संगै रहेको गोकर्ण वनले यस मन्दिरको वातावरणलाई थप आकर्षक वनाएको छ । हेर्दा हेरिरहु लाग्ने गोकर्णेश्वर महादेवको मन्दिर निक्कै भव्य छ । समुद्र सतहबाट १३३६ मिटरको उचाइमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्ण किराँतीहरूको राजधानी रहेको इतिहासकारहरु बताउँछन् ।

राजा जयस्थिति मल्लले इस्वि संवत १४२२ मा जीर्णोद्वार गरी नित्यपूजा

उत्तरगयाको नामले पनि चिनिने गोकर्ण, धार्मिक तथा अन्य पर्यटकहरूका विच प्रसिद्ध र महत्त्वपूर्ण रहेको यस मन्दिर नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये सबैभन्दा पुरानो सत्ययुगदेखिकै एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको विश्वास गरिन्छ । शक्तिसङ्गमतन्त्र एवं वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको महात्म्यको वर्णन गरिएकोले गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ । भनिन्छ रावणले यही तपस्या गरी तिनैलोक विजय गर्ने वर पाएका थिए । यो मन्दिर राजा जयस्थिति मल्लले इस्वि संवत १४२२ मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको व्यवस्था गरेबाट नै लख काट्न सकिन्छ कि मन्दिर कति पुरानो रहेछ भन्ने । यो मन्दिर यति पुरानो छ कि कसले कुन समयमा बनाएको हो अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन ।

गोकर्णेश्वर महादेवको मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो। वाग्मती, चन्द्रमती र सूर्यमतीनदीको संगमस्थल त्रिवेणी धाममा पितृ कर्म गर्नाले २१ कुलको उद्दार हुन्छ भनिएको छ। जसमा आफ्नो ७, मामालीको सात र ससुरालीको ७ कुल गरी जम्मा २१ कुलको उद्दार हुन्छ भनिएको छ । सत्ययुगमा महादेव मृगरुपमा मृगस्थलीमा विचरण गरिरहदा भगवान विष्णु समेतले प्रभुको सिं समाउदा, उक्त सिं भाचिएर एक स्वर्गमा गएको, एक पातालमा गएको र एक हालको गोकर्णेश्वर महादेव मन्दिरमा शिवलिङको रुपमा रहेको विश्वास गरिन्छ । यसरी तिन टुक्रा सिं मध्ये मनुस्य जातीले देख्ने र दर्शन गर्न पाउने यो मात्रै एक टुक्रा हो भन्ने गरिन्छ । यस उत्तर गया क्षेत्रमा पितृ कर्म मात्रै हैन, यस क्षेत्रको भ्रमण गर्दा मात्रै पनि आफ्ना पितृको उद्दार हुने र पितृहरु खुशी हुने गर्दछन भने झन पितृ कर्म गर्दा त कति हो कति आशिष पाईन्छ पितृहरुबाट भन्ने भनाई रहेको छ ।

समुद्र सतहबाट करिब २६५० मिटर उचाई रहेको बागद्वारबाट उत्पत्ती भएकी पवित्र वागमती नदी सुन्दरीजल हुदै दक्षिण लागेर बग्दै जादा चन्द्रमती र सुर्यमतीसंग जब गोकर्णमा मिल्छिन तेति बेला उनको बहाब दिशा पुर्णत उत्तर तर्फ लाग्दछ । सररर उत्तर तर्फ बग्दै गरेकी वागमती जब भगवान गोकर्णेश्वरको दर्शन गर्छिन तब प्रफुल्ल हुदै पुनः दक्षिण लाग्छिन । यसरी दक्षिण लाग्दै गर्दा हालको जोरपाटी चावहिल हुदै बग्ने क्रममा गौरी घाटमा पुगेर पुनः उत्तर तर्फ बगेकी वागमती भगवान पशुपतीनाथको दिव्य दर्शन गर्दै अगाडी बढ्दछिन । त्यसपछी शंखमुलमा मनोहरासंग मिल्दै अगाडी बढ्दै जादा विष्णुमतीसंग टेकु दोभानमा मिलेर ऋषिश्वर महादेवको दर्शन गर्दै बागमती पुनः दक्षिण बगेर अगाडी बढ्दछिन । पवित्र गंगा वागमतीको यो मन्द चाल देखेर सदगुरुको भनाई याद आउछ र भन्न मन लाग्छ, साच्चै हो रहेछ नदी पहाड वनजंगलको पनि जीवन हुने रहेछ, लामो जीवन । गोकर्ण र पशुपतीमा नियालेर हेर्दा देखिन्छ, साच्चै वागमतीको जीवन छ र त गोकर्णेश्वर र भगवान पशुपतीनाथको दर्शन गरिरहेकी छन् । जय पशुपतीनाथ ।

(तस्विरः गोकर्णेश्वर महादेवलाई दर्शन गरेर दक्षिण लागेकी पवित्र गंगा वागमती)

You May Also Like

More From Author

+ There are no comments

Add yours