३० हजार घुस लिएको अभियोगमा नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

१६ वैशाख, काठमाडौं । ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्काविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार खड्काले भारतबाट भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयँँ घुस लिएको प्रमाणित भएपछि विशेषमा मुद्दा दायर गरिएको हो ।

खड्कालाई घुस मागेको सूचना र उजुरी निवेदन परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ रकम सहित नियन्त्रणमा लिएको थियो ।

खड्काले घुस लिएको ३० हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी गर्दै मुद्दा दायर भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours