भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भन्छन्- बीमा बोर्डको  निर्णयपछि २४ वटा परीक्षण हटाइएको  हो

१६ वैशाख, काठमाडौं । भरतपुर अस्पतालले स्वास्थ्य बीमामा तोकिएका २४ प्रकारका परीक्षणहरुलाई बीमा सेवाबाट हटाएको छ।

परीक्षणका लागि आवश्यक केमिकल खरिद महँगो पर्ने भएपछि स्वास्थ्य बीमा बोर्ड कै निर्देशनमा बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले स्वास्थ्यखबरलाई बताए।

‘२४ वटा परीक्षण स्वास्थ्य बीमा बोर्डले नै तीन तीन महिना क्यापिङ गरेका कारण बन्द गरेका छौं’, उनले भने -‘यो बीमा बोर्डकै निर्णय हो, अस्पतालले गरेको निर्णय होइन।’

वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक समेत नभएको उनको प्रष्टोती छ। भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बीमामार्फत गर्ने सुविधा रोकिएको तथा त्यो अत्यावश्यक नभएको उनले बताए।

पौडेलले भने, ‘अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ, ती परीक्षणको कीट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो हुने गर्दछ, त्यसैले रोक्नु परेको हो।’

बीमा बोर्डबाट भरतपुर अस्पतालले हालसम्म ६० करोड भुक्तानी पाउन बाँकी छ। बीमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउन तथा केमिकल र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको उनले बताए।

बीमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउनसमेत कठिन हुन थालेको र अस्पताल सञ्चालनका लागि तत्काल रु २५ करोड भुक्तानी भयो भने अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुने बताउँछन्।उनले भने, ‘यस्तै अवस्था रहे फार्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ।

अस्पतालमा दैनिक २८/२९ सय बिरामी आउने गर्छन्। जसमध्ये ४० शल्यक्रिया हुँदै आएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours