सरकारले शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाउन थालेको जगमान गुरुङको आरोप

०८ वैशाख, काठमाडौं । राजसंस्था र हिन्दुराज्य व्युँत्याउने भनेर राजावादीहरुले गठन गरेको संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले, सरकारले शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाउन थालेको आरोप लगाएका छन् ।

सरकारले निरंकुश शैली अपनाएको भन्दै गुरुङले निन्दासमेत गरेका छन् ।

उनले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संविधान प्रदत्त प्रजातान्त्रिक हक अधिकार, मानव अधिकारको बर्खिलाफ गर्दै सरकारले शान्तिपूर्ण भेला जम्मा भइ आयोजना गरिने गोष्ठी, पत्रकार सम्मेलन, जनप्रदर्शन लगायत कार्यक्रमहरुमा प्रतिबन्ध लगाउन थालेकोमा यस संयुक्त जनआन्दोलन समितिको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार हनन् गर्ने सरकारको निरंकुश कार्य निन्दनीय छ ।’

सरकारले असंवैधानिक कार्य गरेको आरोप लगाउँदै उनले त्यस्ता कार्य तत्काल रोक्न माग गरेका छन ।

यस सन्दर्भमा मानव अधिकार समुदाय संघसंस्था, संचार जगत तथा व्यक्तित्वहरुलाई आवाज उठाइदिन पनि उनले आह्वान गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours