०७ वैशाख, कञ्चनपुर । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले महेन्द्रनगरस्थित महाकाली नदीमा कलर कोडसहितको गेज मिटर स्थापना गर्ने भएको छ । बाढीको पूर्वसूचनाका लागि गेज मिटर जडान गर्न लागिएको हो ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहका अनुसार स्थानीय पालिका र गैरसरकारी संस्थाको सहकार्यमा गेज मिटर स्थापनाको कार्यअघि बढेको हो । ‘कलर कोडसहितको गेज मिटर स्थापनाको काम सुरु गरिसकेका छौँ १÷२ दिनभित्रै काम सकिन्छ,’ शाहले भने, ‘कलर कोडसहितको गेज मिटरले यहाँका स्थानीयले सजिलैसँग नदीको जलस्तर थाहाँ पाउनेछन् ।’
उनका अनुसार उक्त मिटरले नदीको सतहअनुसार बाढीको जोखिम संकेत गर्न हरियो, पहेँलोे, सुन्तला र रातो रङमार्फत जानकारी दिनेछ । ‘यसबाट तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ,’ उनले भने, ‘यसले यहाँका जनताले सजिलैसँग आफ्नो आखाँले हेरेर तुरुन्त बाढीको जोखिमबारे थाहा पाउने र सुरक्षित स्थानमा जान सजिलो हुने गरी काम गरेका छौँ ।’ उनले हरियो रङले न्यून जोखिमलाई जनाउने र पहेँलो रङले चेतावनी तह पुग्दैछौँ भन्ने जानकारी दिने बताए ।
त्यसैगरी सुन्तला रङले अब खतराको नजिक पुग्दै छौँ भन्ने संकेत गर्नेछ भने रातो रङले अब खतराको संकेत दिने उनले बताए । उनका अनुसार दोधारा चाँदनीको कुतियावरस्थित महाकाली नदीमासमेत कलर कोडसहितको गेज मिटर स्थापनाका लागि अध्ययन भइरहेको छ ।
कुतियाकवर बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो । दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले गेज मिटरले पुलबाट हिँड्ने व्यक्तिले सहज रूपमा देख्न र बुझ्नसक्ने बताए । ‘भीमदत्त र दोधारा चाँदनीका मानिस हिँड्ने मुख्य बाटो महाकाली पुल भएकाले यहाँ स्थापना भएको गेज मिटरले यहाँका जनताले सजिलै पानीको सतह थाहा पाउनेछन ।’
उनले भने, ‘यसले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न र विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्छ ।’ कलरकोडसहितको गेज मिटरले बाढीको पूर्वतयारीमा लाग्न सहज हुने तटीय क्षेत्रका स्थानीय बताउँछन । ‘जल तथा मौसम विज्ञान विभागले सामाजिक सञ्जालमा दिने मौसमको पूर्वाअनुमान बुलेटिन र मोबाइलमा आउने सूचनाले बाढीको जोखिमबारे थाहा पाउछौँ ।’ यहाँका स्थानी रमेश कडायतले भने, ‘अब रङ हेरेर थाहा पाइने भएपछि पूर्व तयारीमा लाग्न सजिलो हुन्छ ।’


+ There are no comments
Add yours