२९ चैत, काठमाडौं । पूर्व उद्योगी व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्न अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव दिएका छन् ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा बिराटनगरबाट काठमाडौँ आएको टोलीले आगामी आर्थिक वर्षको बजेटमा उद्योग, कलकारखानालाई समेटेर अर्थतन्त्रलाई चलायमान बनाउने पहल आगामी बजेटमा गर्न अर्थमन्त्रीलाई सुझाव दिएका हुन् ।
उद्योग व्यवसाय क्षेत्रको हक हितका लागि आगामी बजेटबाट सम्बोधन गरिनुपर्ने विषयबारे टोलीले ध्यानाकर्षण गराउदै, औद्योगिक क्षेत्रका समस्या समाधान गर्नका लागि विभिन्न सुझाव दिइएको अध्यक्ष राठीले जानकारी दिए ।
त्यस अवसरमा अध्यक्ष राठीले भारतीय सीमावर्ती बजारहरुबाट हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल भित्रीने दैनिक उपभोग्य वस्तुहरुमा लगाइएको आयात शुल्क न्यूनीकरण गर्नुपर्ने सुझाव पनि दिइएको थियो ।
त्यस्तो शुल्क न्यूनीकरण गर्दा भन्सारबाट वैध रुपमै सामान आउँदा सरकारी राजस्व वृद्धि हुने उनले औंल्याएका थिए । आयात शुल्क बढी हुँदा अवैध आयात र कालोबजारी फस्टाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा राठीले जोड दिएका थिए । आयात सहजीकरणले उपभोक्तालाई पनि सहजै रुपमा नेपाली बजारमा सामान उपलब्ध हुनेतर्फ टोलीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
यसैगरी, सरकारले स्वदेशी उद्योगको संरक्षण हुने खालका ठोस नीति अवलम्बन गरी निर्यात व्यापारलाई प्रोत्साहन गर्न विशेष सहुलियत दिनुपर्नेमा जोड दिइएको थियो । उद्योगका लागि आवश्यक कच्चा पदार्थमा लागिरहेको अव्यवहारिक र असामान्य भन्सार दररेटलाई कम गर्न पनि टोलीले आग्रह गरेको थियो । प्रतिव्यक्ति आयकरलाई ५ लाखबाट बढाएर १० लाख पुर्याउनुपर्ने सुझाव पनि टोलीले दिएको थियो ।
बैंकमा तरलता भएता पनि ब्याजदर न्यूनतम विन्दुमा पुगेको अवस्थामा लगानी नभइरहेकोतर्फ ध्यान दिइ नयाँ लगानी वृद्धि गर्न कृषि, उद्योग, पर्यटन, शिक्षा, ऊर्जा, स्वास्थ्यलगायत सबै क्षेत्रमा प्रोत्साहन नीति बनाएर लागू गर्न पनि टोलीले सुझाव दिएको थियो ।
मोरङको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा नियमित रुपमा रेल्वे कार्गो सेवा सञ्चालन हुने वातावरण बनाउन टोलीले सुझाव दिएको थियो । यसैगरी, कोभिड–१९ महामारीका बेला बन्द गरिएका विभिन्न वस्तुहरुको आयात खुला गरेर राजस्व वृद्धि गर्नेतर्फ ध्यान दिन पनि टोलीले आग्रह गरेको थियो ।
भेटका क्रममा अर्थमन्त्री पौडेलले राठी सहितको टोलीलाई सुझावका लागि धन्यवाद दिँदै आगामी बजेटमा समग्र उद्योगी, व्यवसायीको हकहितका लागि प्राप्त उपयुुक्त सुझावहरु समावेश गरिने आश्वासन दिएको संघका कार्यकारी निर्देशक कृृष्ण रेग्मीले जानकारी दिए ।
टोलीले अर्थमन्त्री विष्णु पौडेलसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मा लगायतसँग भेट गरेको थियो ।
टोलीमा अध्यक्ष राठी, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, संघका उपाध्यक्ष अनिल सारडा र विपिन कावरा लगायत सहभागि थिए ।


+ There are no comments
Add yours