किन भत्काइँदैछ निर्माण अन्तिम चरण पुगेको ‘ग्वार्को फ्लाइओभर’ ?

केन्द्रको अनुगमन–परीक्षण र निर्माण कम्पनीको दाबीबीच पर्खाल चर्किन थालेसँगै फ्लाइओभरको केही भाग भत्काउनु परेको हो ।

०२ चैत, काठमाडौँ । निर्माण अन्तिम चरणमा पुगेको ललितपुरस्थित ‘ग्वार्को फ्लाइओभर’ को केही भाग भत्काइएको छ ।

फ्लाइओभरको काम निरीक्षण गर्दा केही भागमा मापदण्ड नपुगेको पाइएसँगै भत्काउन निर्देशन दिइएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

‘मापदण्ड नपुगेको पाइएपछि प्रिकास्ट प्यानलतर्फको केही भाग भत्काउन लगाइएको छ,’ उनले भने, ‘निर्माण कम्पनीले पुनः मापदण्ड पूरा गरी निर्माण गर्छ ।’

यसरी पुनर्निर्माण गर्दा पनि निर्माण कम्पनीले तोकेको अवधिभित्रै आयोजनाको काम सक्नुपर्ने उनको भनाइ छ । सुरुमा पर्खाल खडा गरी माटो भरेर काम अगाडि बढाउँदा पर्खाल नै चर्किएर भत्किन थालेको सडक विभागले जनाएको छ ।

जसका कारण सातदोबाटो तर्फको पर्खाल भत्काउनु परेको महानिर्देशक पोखरेलले बताए । यहाँ ३० देखि ४० मिटरसम्म पर्खाल भत्काएर पुनर्निर्माण गर्नुपर्ने देखिएको समेत उनले जानकारी दिए ।

पटक–पटक अवरुद्ध हुँदै निर्माण हुँदै गएको फ्लाइओभरको काम ८० प्रतिशतभन्दा माथि पुगेको छ । निर्माण कम्पनीले पाएको अवधि गत मंसिरमै सकिएको थियो ।

त्यसयता २ सय दिन निर्माण कम्पनीले जरिबाना तिरेरै भए पनि निर्माणको बाँकी काम सक्नुपर्ने सम्झौता छ । जरिबाना लगाउँदा निर्माण पक्षले चैतसम्म काम सक्ने अनुमान गरिएको थियो । तर, पुनर्निर्माण समेत गर्नुपर्ने भएसँगै यो अवधि लम्बिने भएको छ ।

यो आयोजनाको सुरुवाती अवधि भने फागुन २०८० सम्म थियो । आयोजना आशिष/समानान्तर/रेलिगेर जेभीले बनाइरहेको छ । यसअघि सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले पटक–पटक परीक्षण गरेर दुःख दिएको भन्दै निर्माण कम्पनीले केही समय काम समेत रोकेको थियो ।

तर, केन्द्रको अनुगमन–परीक्षण र निर्माण कम्पनीको दाबीबीच पर्खाल चर्किन थालेसँगै फ्लाइओभरको केही भाग भत्काउनु परेको हो । ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्ट्रक्सन’ (ईपीसी) मोडेलमा यो आयोजनाको ठेक्का लागेको हो । जसमा डिजाइनदेखि निर्माणसम्मको काम पर्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours