‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ विमोचित, लोकतन्त्रको वास्तविक अनुभूतिमाथि गम्भीर बहस

१३ मंसिर, ललितपुर । लोकतन्त्र के निर्वाचन, संविधान र राजनीतिक भाषणमा मात्रै सीमित छ, कि नागरिकको दैनिक जीवन र व्यवहारमा पनि अनुभूत हुनुपर्छ ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राख्दै नेपालको लोकतान्त्रिक अभ्यास, नागरिक अधिकार, मानवअधिकार, सुशासन र राज्यको जवाफदेहितामाथि विमर्श गरिएको पुस्तक ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक गरिएको छ।

समाचार संस्था मास नेपाल र गोदावरी साहित्य परिषद्को संयुक्त आयोजनामा बिहीबार जनभावना क्याम्पस, चापागाउँमा आयोजित विशेष समारोहमा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाललगायतले पुस्तक विमोचन गर्नुभयो। पुस्तक विमोचनसँगै आयोजित विमर्शमा वक्ताहरूले नेपालको लोकतन्त्रका उपलब्धि, अभ्यास, सीमा र चुनौतीबारे आ–आफ्ना धारणा राख्दै लोकतन्त्रलाई नागरिकको जीवनसँग जोड्नुपर्नेमा जोड दिए।

मानव आवाज अनलाइनका सम्पादक तथा मानवअधिकार पत्रकार रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित पुस्तकमा लोकतन्त्र, नागरिक अधिकार, मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा प्रकाशित ३० वटा लेख समेटिएका छन्। पाँच खण्डमा विभाजित पुस्तकले नेपाली लोकतन्त्रका अभ्यास र विसङ्गतिलाई प्रश्न तथा विश्लेषणका माध्यमबाट केलाउने प्रयास गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले लोकतन्त्र कुनै राजनीतिक प्रणाली मात्र नभई जीवनपद्धति भएको उल्लेख गर्दै यसको वास्तविक अभ्यास गाउँगाउँ र नागरिकको दैनिक जीवनसम्म पुग्न नसकेको बताउनुभयो। भूमि र जनताको सार्वभौमिकता सुनिश्चित नभएसम्म लोकतन्त्र पूर्ण हुन नसक्ने उहाँको धारणा थियो।

अरूको व्यवहारमा मात्रै लोकतन्त्र खोजेर नहुने भन्दै दाहालले लोकतान्त्रिक मूल्य र संस्कारको सुरुवात आफ्नै आचरणबाट गर्नुपर्नेमा जोड दिनुभयो।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले समाजमा पठन संस्कृति कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र ज्ञानको संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। लोकतन्त्र कागज र संविधानमा मात्र सीमित रहेसम्म यसले उठेका प्रश्नको जवाफ दिन नसक्ने उहाँको भनाइ थियो।

साहित्यकार तथा कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारको गतिविधिसँग मात्रै जोडेर बुझ्न नहुने बताउनुभयो। लोकतान्त्रिक संस्कार परिवार, समाज र व्यक्तिगत सम्बन्धबाटै सुरु हुनुपर्ने उहाँको धारणा थियो।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई आवधिक निर्वाचन र राजनीतिक भाषणमा सीमित गर्न नहुने बताउनुभयो। नागरिकले आफ्नो दैनिक जीवनमा अधिकार, स्वतन्त्रता र सम्मानको अनुभूति गर्न सके मात्रै लोकतन्त्र सार्थक हुने उहाँले उल्लेख गर्नुभयो।

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले नेपालको लोकतान्त्रिक अभ्यासमा आफूहरू कहाँ उभिएका छौँ भन्ने आत्मसमीक्षा गर्ने समय आएको बताउनुभयो। लेखकले ज्ञान र अध्ययनका माध्यमबाट लोकतन्त्र प्रश्नको घेरामा पर्नुका कारण पहिचान गर्ने प्रयास गरेको उहाँको भनाइ थियो। असहमतिलाई सम्मान र सहन गर्न सक्ने क्षमता नै लोकतान्त्रिक संस्कारको महत्वपूर्ण आधार भएको उहाँले बताउनुभयो।

गोदावरी साहित्य परिषद्का अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न पाउने नागरिकको अधिकार र त्यसको जवाफ दिन सक्ने राज्यको सामर्थ्यबाटै लोकतन्त्रको वास्तविक मापन हुने बताउनुभयो। नागरिकको खुसी र सन्तुष्टिमा लोकतन्त्रको अवस्था देखिने उल्लेख गर्दै उहाँले प्रश्न गर्ने संस्कृतिको अन्त्य भएको दिन लोकतन्त्रसमेत कमजोर हुने धारणा राख्नुभयो।

पुस्तकका लेखक रमेशप्रसाद तिमल्सिनाले यो कृति प्रकाशित लेखहरूको सङ्ग्रह मात्र नभई आफ्नो समय, समाज, राज्य र लोकतान्त्रिक अभ्यासमाथि गरिएका प्रश्न, चिन्तन र टिप्पणीहरूको अभिलेख भएको बताउनुभयो।

लोकतन्त्र संविधान र कागजमा लेखिएर मात्र बलियो नहुने उल्लेख गर्दै उहाँले नागरिकले व्यवहारमै अधिकारको अनुभूति गर्न पाउनुपर्ने बताउनुभयो। संविधानप्रदत्त अधिकारलाई व्यवहारमा स्थापित गर्ने, कानुनको शासन सुनिश्चित गर्ने र राज्यलाई नागरिकप्रति जवाफदेही बनाउने निरन्तर प्रयासबाट मात्रै लोकतन्त्र सुदृढ हुने उहाँको भनाइ थियो।

लेखकका दाजु दीपकप्रसाद तिमल्सिनाले पारिवारिक साथ र सहयोगकै कारण पुस्तक प्रकाशन सम्भव भएको उल्लेख गर्दै यस यात्रामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

पत्रकारिताको क्षेत्रमा तीन दशकदेखि सक्रिय लेखक तिमल्सिना रेडियो सगरमाथा, राष्ट्रिय समाचार समिति (रासस) र इन्सेकलगायत संस्थामा आबद्ध रहेर काम गरिसक्नुभएको छ। पत्रकारिता, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा निरन्तर क्रियाशील उहाँको नयाँ कृतिले नेपाली लोकतन्त्रको वर्तमान अवस्था, नागरिकको अपेक्षा र राज्यको उत्तरदायित्वबारे थप बहसको ढोका खोल्ने अपेक्षा गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours