भारतका दुवै सदनमा सांसद संख्या ५० प्रतिशत बढाइने

१२ मंसिर, काठमाडौं । भारतमा लोकसभा र राज्य विधानसभाका सदस्य संख्या ५० प्रतिशत बढाउने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको हो ।

प्रस्तावअनुसार हाल लोकसभामा रहेका ५४३ सिटलाई ५० प्रतिशत बढाएर ८१५ पुर्‍याउने योजना छ । यसबाट २७२ सिट थपिनेछन् ।

यद्यपि, आधा सिट बढाउँदा अपूर्ण संख्या भएका राज्यमा सिट संख्या पूर्णांकमा मिलाउने क्रममा थप सिट बढ्न सक्ने भएकाले लोकसभाको कुल संख्या ८२४ सम्म पुग्ने अनुमान गरिएको छ । कुल सिट संख्या ८५० सम्म पुग्न सक्ने विकल्पसमेत प्रस्तावमा उल्लेख छ ।

सिट संख्या निर्धारणका लागि १९७१ को जनगणनालाई आधार बनाउने तथा संसदीय निर्वाचन क्षेत्रको सीमांकन २०११ को जनगणनाका आधारमा गर्ने प्रस्ताव गरिएको छ ।

बढाइएका सिट महिलाका लागि आरक्षित गर्ने योजना पनि प्रस्तावमा समेटिएको छ । प्रस्तावअनुसार सिट संख्या आगामी २५ वर्षसम्म परिवर्तन नगर्ने व्यवस्था गरिनेछ ।

संसद्को विशेष अधिवेशनमा विधेयक पारित गर्ने तयारी

सरकारले परिसीमनसम्बन्धी विधेयक नोभेम्बर ३० देखि सुरु हुने संसद्को विशेष अधिवेशनमा पारित गराउने तयारी गरेको छ । केन्द्रीय मन्त्री किरेन रिजिजुले विधेयकमाथिको बहसमा सहभागी हुन विपक्षी दललाई आग्रह गरेका छन् ।

तर, कांग्रेसले सरकारले विधेयक पारित गराउन छलपूर्वक बहुमत जुटाउने प्रयास गरिरहेको आरोप लगाएको छ ।

यसअघि १६ अप्रिलमा संसद्मा प्रस्तुत गरिएको विधेयक जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको परिसीमन (निर्वाचन क्षेत्रको भौगोलिक सीमा, संख्या तथा प्रतिनिधित्वको संरचना पुनःनिर्धारण गर्ने विशिष्ट प्रक्रिया) गर्दै सिट संख्या बढाउने प्रस्तावमा केन्द्रित थियो । उक्त प्रस्तावले राज्यहरूबीच प्रतिनिधित्वको अनुपात परिवर्तन हुन सक्ने आशंका उत्पन्न गरेको थियो ।

नयाँ विधेयकमा भने सबै राज्यको हाल कायम सिट संख्या ५० प्रतिशत बढाउने र सन् २०५१ सम्म राज्यहरूबीचको वर्तमान प्रतिनिधित्व अनुपात कायम राख्ने योजना छ । अर्थात् लोकसभामा सिट संख्या बढाए पनि एउटा राज्यको तुलनामा अर्को राज्यको प्रतिनिधित्व अनुपात घट्ने छैन ।

अप्रिलमा ५४ मतले असफल भएको थियो विधेयक

मोदी सरकारले १६ देखि १८ अप्रिल २०२६ मा संसद्को विशेष अधिवेशन बोलाएर परिसीमन तथा महिला आरक्षणसम्बन्धी संविधान संशोधन विधेयक प्रस्तुत गरेको थियो । सन् २०२९ को निर्वाचनसम्म महिला आरक्षण कानुन कार्यान्वयन गर्न विधेयक पारित आवश्यक रहेको सरकारको तर्क थियो ।

विधेयकको पक्षमा २९८ सांसदले मतदान गरेका थिए भने विपक्षमा २३० सांसदले मत दिएका थिए । मतदानका क्रममा सदनमा ५२८ सांसद उपस्थित थिए ।

संविधान संशोधन विधेयक पारित हुन उपस्थित र मतदान गर्ने सांसदको दुई तिहाइ समर्थन आवश्यक हुन्छ । त्यसअनुसार विधेयक पारित हुन कम्तीमा ३५२ मत आवश्यक थियो । तर, विधेयकले २९८ मत मात्रै पाएपछि ५४ मत अपुग भएर पारित हुन सकेन ।

लोकसभामा ४० र राज्यसभामा ११ मत अपुग

लोकसभामा हाल एनडीएसँग ३२० सांसद छन् । तीन सिट रिक्त रहेकाले मतदानमा अधिकतम ५४० सांसद सहभागी हुन सक्नेछन् ।
यस अवस्थामा विधेयक पारित गर्न आवश्यक दुई तिहाइ मत संख्या ३६० हुन्छ । एनडीए उक्त संख्या पुग्न ४० मत कम छ ।

त्यस्तै, राज्यसभामा एनडीएसँग १५१ सांसद छन् । राज्यसभामा २४३ सांसदले मतदान गर्ने अनुमान गरिएको छ ।

विधेयक पारित गर्न आवश्यक दुई तिहाइ अर्थात् १६२ मत पुग्न एनडीएलाई थप ११ मत आवश्यक पर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours