१२ मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज शनिबार मंसिर १२ गते घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको हो।
अझ यो सुरुवाती मापन हो। आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो शुक्रबार सुरुवाती मापनमा ८.७ देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पछि अन्तिम मापनमा ८.५ डिग्री सेल्सियस कायम भएको थियो।
यसअघि मंसिर २ देखि दैनिक घट्दै मंसिर ९ गते ७ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० र ११ गते लगातार बढेको थियो। तर आज फेरि घटेको हो।
मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।
मूलत: हाल दिनप्रतिदिन देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
यस्तो छ शुक्रबारको तापक्रम विवरण
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
यस्तै राति कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मूख्यतया सफा रहनेछ। बिहानीपख उपत्यका र खोच साथै तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
यद्यपि यो शुक्रबार साँझकै प्रक्षेपण हो। मौसम महाशाखाले अहिले बिहान ८ बजे मौसम बुलेटिन अद्यावधिक (अपडेट) गर्नेछ।


+ There are no comments
Add yours