दाङ जिल्ला अदालतले थुनछेक बहसका क्रममा ५० हजार धरौटी लिएर छोड्न आदेश दिए पनि उनले धरौटी तिर्न सकिनन् । धरौटी तिर्न नसकेपछि उनी धरौटी रकम भुक्तान गर्न तुलसीपुर कारागार चलान भइन् ।
१० मंसिर, दाङ । आफन्तसँग ३ हजार रुपयाँमा किनेको मोबाइल आशा बेल्बासेका लागि पासो बन्यो । देवरका छोरासँग पुरानो मोबाइल किनेकी बेल्बासेलाई अन्ततः मोबाइल चोरीको मुद्धा लाग्यो ।
भारत जान पैंसा पुगेन भन्दै देवरका छोराले ३ हजार रुपयाँ मागेर मोबाइल दिएका थिए । मोबाइल चोरी मुद्धा लागेपछि उनी भदौ २० मा पक्राउ परिन् । दाङ जिल्ला अदालतले थुनछेक बहसका क्रममा ५० हजार धरौटी लिएर छोड्न आदेश दिए पनि उनले धरौटी तिर्न सकिनन् । धरौटी तिर्न नसकेपछि उनी धरौटी रकम भुक्तान गर्न तुलसीपुर कारागार चलान भइन् ।
तुलसीपुर उपमहानगरपालिका–७ घुसरी घर भई हाल बाँकेको कोहलपुरमा कोठाभाडामा बस्दै आएकी ४५ वर्षीया बेल्बासेका १२ बर्षीय छोरा र १३ बर्षीेया छोरी छन् । श्रीमान्को मृत्यु भएपछि ज्याला मजदूरी गरी जिविका चलाउँदै आएकी विपन्न बर्गकी बेल्बासेले धरौटी रकम तिर्न नसक्ने बताएपछि उनलाई कारागार पठाइएको थियो ।
उनी कारागार चलान भएपछि कोहलपुरको कोठा भाडा तिर्न सकिनन् । दुई महिना कारागार बस्दा घरधनीले भाडाको कोठामा ताला लगाइदिए । ‘भाडाको कोठामा घरधनीले ताला लगाइदिएका छन् रे । छोराछोरी साथीको घरमा बसेका छन् रे,’ बेल्बासेले भनिन्,‘म यता जेलमा परें । उता छोराछोरी अलपत्र परे ।’
आर्थिक अभावले जेल परेको थाहा पाएपपछि उनको धरौटी रकम जुटाउन तुलसीपुरका राजनीतिज्ञ एवं समाजसेवी टोपबहादुर महतराले पहल गरे । नेपाल बन्दी सेवा संघका अध्यक्ष जय देउला लगाएतका सहयोगीले रकम संकलन गरी ५० हजार रकम उपलब्ध गराएपछि उनी सोमबार कारागारमुक्त भएकी छिन् ।
कारागारका कर्मचारीले धरौटी रकम तिर्न नसकेर महिला जेल परेको र साना बालबालिकाका अलपत्र परेको जानकारी गराएपछि सहयोग जुटाउन पहल गरेको महतराले बताए । ‘उहाँको आफ्नो मानिस कोही नभएपछि मैले नै अभिभावक बनेर कारागारबाट छुटाएँ,’ उनले भने,‘बालबालिका अलपत्र नपरुन्, गरिवले पैंसा नभएर जेल बस्न नपरोस् भनेर मैले धरौटी जुटाउन पहल गरेको हुँ ।’
सस्तो मूल्यमा मोबाइल किन्दा चोरी मुद्धा खेप्नु परेको बेल्बासेले बताइन् । ‘आर्थिक अबस्था कमजोर भएकाले सस्तोमा मोबाइल किनेको हुँ । मेरो नागरिकता पेश गरेर सिम निकालें,’ उनले भनिन्,‘त्यसकै आधारमा म पक्राउ परें । अन्तमा मोबाइल भन्दा महंगो धरौटी तोकियो । मैले तिर्न सकिनँ ।’
धरौटी तिर्न नसकेर जेल बस्नुपर्दा दुःख लागेको उनले बताइन् । ‘मेरा साना छोराछोरी छन् । हेरिदिने कोही छैन, म जेल परेपछि सबै अलपत्र परे,’ उनले भनिन्,‘धरौटी सहयोग नपाएको भए म जेलमै बसिरहनुपथ्र्यो । छोराछोरीले पनि दुःख पाउँथे ।’


+ There are no comments
Add yours