मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्छ : मौसमविद्

०५ कार्तिक, काठमाडाैँ । मौसमविद् विनोद पराजुलीले बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साता नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै समयमै पूर्वतयारी गर्न आग्रह गरेका छन्।

हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षाको सम्भावना देखाएको र केही स्थानमा भारी वर्षासमेत हुन सक्ने उनले बताएका छन्।

चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक गर्दै पराजुलीले दसैँको टीका र भेटघाटलाई निरन्तरता दिँदा आगामी साताको सम्भावित वर्षालाई पनि ध्यानमा राखेर योजना बनाउन सुझाव दिएका छन्।

विभिन्न मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक–फरक संकेत देखाएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको उनको भनाइ छ।

पूर्वानुमानमा अझै परिवर्तन हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा हेर्न उनले आग्रह गरेका छन्।

आगामी मंगलबारदेखि धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पछिल्लो अवस्था बुझेर मात्र कटानीको निर्णय लिन पराजुलीले सुझाव दिएका छन्।

सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि कटानी गर्ने गरी योजना बनाउन उनले आग्रह गरेका छन्।

केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावनासमेत देखिएकाले धानबाली जोगाउन किसानले विशेष ध्यान दिनुपर्ने उनले बताएका छन्।

हिमाली क्षेत्रमा पनि जोखिम बढ्न सक्ने भन्दै उनले यात्रा तथा पदयात्राको तयारीमा रहेकाहरूलाई नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा योजना बनाउन सुझाव दिएका छन्।

सम्भावित वर्षाको जानकारी डर सिर्जना गर्न नभई समयमै पूर्वतयारीका लागि सार्वजनिक गरिएको स्पष्ट पार्दै पराजुलीले मौसमको अवस्था थप स्पष्ट हुँदै जाँदा नयाँ जानकारी दिँदै जाने बताएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours