महँगो हुदै आईफोन १८, यस्तो कारण

२१ भदाै, काठमाडौँ । एप्पलको आगामी आईफोन १८ सिरिज अघिल्लो पुस्ताका मोडलको तुलनामा १० देखि २० प्रतिशतसम्म महँगो हुन सक्ने एक अध्ययनले देखाएको छ ।

विश्व बजार अनुसन्धान संस्था ट्रेन्डफोर्सको पछिल्लो विश्लेषणअनुसार मूल्य बढ्नुको मुख्य कारण उपकरण निर्माणमा प्रयोग हुने सामग्रीको बढ्दो लागत र विश्व बजारमा देखिएको स्मरणशक्ति चिपको अभाव हो ।

ट्रेन्डफोर्सका अनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा २५६ जिबी क्षमताको प्रो मोडलका लागि आवश्यक स्मरणशक्ति सामग्रीको लागत अघिल्लो वर्षको तुलनामा करिब ४०० प्रतिशतले बढेको छ । एप्पलले अन्य सामग्रीको लागत घटाउने प्रयास गरे पनि स्मरणशक्ति सामग्रीको बढ्दो मूल्यले नयाँ आईफोनको अन्तिम मूल्यमा असर पार्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच एप्पलले पहिलो पटक फोल्ड गर्न मिल्ने आईफोन पनि सार्वजनिक गर्न सक्ने चर्चा छ । यसलाई ‘आईफोन अल्ट्रा’ नाम दिइने सम्भावना रहेको बताइएको छ । ट्रेन्डफोर्सले यसको सुरुवाती मूल्य २ हजार ९९ देखि २ हजार २९९ अमेरिकी डलरसम्म हुन सक्ने अनुमान गरेको छ । उच्च क्षमताको मोडलको मूल्य ३ हजार डलरसम्म पुग्न सक्ने अनुमान छ ।

मूल्य बढे पनि आईफोन १८ मा डिजाइन वा कार्यक्षमतामा ठूलो परिवर्तन नआउन सक्ने बताइएको छ । नयाँ पुस्तामा कृत्रिम बौद्धिकताका सुविधा सञ्चालन गर्न सक्षम शक्तिशाली चिप, सुधारिएको चिप शीतलन प्रणाली र कम विद्युत् खपत गर्ने पर्दा प्रयोग हुन सक्नेछ ।

आईफोन १८ प्रो मोडलमा यान्त्रिक रूपमा परिवर्तन गर्न सकिने क्यामेरा छिद्र प्रविधि थपिने सम्भावना छ। यसले फरक प्रकाशमा तस्बिरको गहिराइ र उज्यालो–अँध्यारोको सन्तुलन सुधार गर्न सक्नेछ ।

त्यस्तै, आईफोन १८ प्रो म्याक्समा ठूलो आकारको संरचनाका कारण बढी क्षमताको ब्याट्री राखिन सक्ने र यसबाट ब्याट्री टिक्ने समय बढ्न सक्ने अनुमान गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours