रहेनन् वरिष्ठ साहित्यकार तथा समालोचक रेवतीरमण

२१ भदाै, काठमाडौँ । मैथिली साहित्य क्षेत्रका एक दिग्गज स्रष्टा तथा वरिष्ठ समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो।

डा. लालले मैथिली साहित्यमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्‍याएका थिए। साहित्यका विभिन्न विधामा कलम चलाएका उनले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रावृत्तान्त तथा लोकसाहित्यको क्षेत्रमा उल्लेखनीय कृतिहरू दिएका छन्। उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो।

उनका चर्चित मैथिली कृतिहरूमा ‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ रहेका छन्। त्यस्तै, ‘धनुषाधाम और मणिमण्डप’ उनको पर्यटनसम्बन्धी कृति हो। उनी मैथिली त्रैमासिक पत्रिका ‘नैमिकानन’ का सम्पादकमेत रहेका थिए भने उनका विभिन्न रचनाहरू विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समेत समावेश गरिएका छन्।

साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनले वैदेही प्रतिभा पुरस्कार, त्रिमूर्ति पुरस्कार, मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान तथा नेपाल सरकारको प्रादेशिक प्रतिभा पुरस्कारलगायतका प्रतिष्ठित सम्मान प्राप्त गरेका थिए।

साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय डा. लाल विविधा मैथिली मञ्चका संस्थापक सचिव, मैथिली साहित्य परिषद्का सदस्य तथा मैथिली साहित्यकार सभाका सल्लाहकारका रूपमा आबद्ध थिए। उनको निधनसँगै मैथिली साहित्यले एक अनुभवी र समर्पित स्रष्टा गुमाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours