चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित क्षेत्रको थ्रिडी इमेज तयार पारिएको छ । चीनले सिजाङ अर्थात तिब्बतमा पहिरो गएका क्षेत्रहरूको त्रि–आयामिक अर्थात थ्रिडी तस्बिर सार्वजनिक गरेको हो ।

चिनियाँ अधिकारीहरुले केरुङ सीमा बन्दरगाहमा शुक्रबार खोजी तथा उद्धार कार्य तीव्र पारेका छन् । उद्धारकर्मीहरूले मानिसहरूको ज्यान बचाउन समयसँग प्रतिस्पर्धा गर्दै उद्धार अभियानलाई तीव्रता दिएका हुन् ।

क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म पाँच जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन्।

बुधबार बिहान नेपालको भूभागमा गएको पहिरो केरुङ जिल्लास्थित केरुङ बन्दरगाहमा पुगेपछि उनीहरू बेपत्ता भएका हुन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको पहिचान भएको छ।

राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रबार बिहान १० बजेसम्म कुल ६८१ जना अग्नि तथा उद्धारकर्मी र ११३ वटा सवारीसाधन दुर्गम पहाडी सीमा क्षेत्रमा पुगिसकेका छन्। साथै, ६ हजार ६१२ थान उद्धार उपकरण तथा रसद सामग्री केरुङ गाउँमा पठाइएको छ।

पहिलो चरणमा १४१ जना उद्धारकर्मी र उच्च उचाइमा उड्न सक्ने एक हेलिकोप्टर बिहीबार बिहान बन्दरगाहमा पुगेका थिए। त्यसपछि चीन खोज तथा उद्धार टोलीका थप १११ जना उद्धारकर्मी बिहीबार दिउँसो केरुङ जिल्लामा पुगेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours