एडिबीले छयहत्तर करोड अनुदान दिने

१३ भदौ, काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछिको आपत्कालीन उद्धार तथा राहतका लागि करिब ७६ करोड रुपियाँ (५० लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ । बैङ्कले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त अनुदान स्वीकृत भएको जनाएको हो ।

एडिबीको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट उपलब्ध गराइने यो अनुदानले खोज तथा उद्धारका सामग्री, चिकित्सा सामान, खाना, पिउने सुरक्षित पानी, अस्थायी वासस्थान, सरसफाइका सामान, फोहोर तथा पहिरो पन्छाउने काम, आपत्कालीन मर्मत र ढुवानी/व्यवस्थापनमा सहयोग पुर्‍याउने जनाइएको छ ।

एडिबीका अध्यक्ष मासातो कान्डालेले आफ्ना सदस्य राष्ट्रको आवश्यकतामा एडिबी सधैँ साथमा रहने बताएको विज्ञप्तिमा उल्लेख छ । “यो रकमले मानिसलाई खाना, पिउने सुरक्षित पानी, वासस्थान, औषधी र अन्य अत्यावश्यक सहयोग पुर्‍याउन मद्दत गर्ने छ,” उहाँले भन्नुभयो ।

विपत्पछिको आवश्यकता मूल्याङ्कन, पुनस्र्थापना योजना र सम्भावित पुनर्निर्माणका लागि एडिबीले अर्को कोषमार्फत थप एक लाख ५० हजार डलरसम्म उपलब्ध गराउने प्रक्रिया अघि बढाएको पनि जनाएको छ । एडिबीले यो आपत्कालीन अवस्थाका साथै पुनस्र्थापना र पुनर्निर्माणमा पनि सरकारसँग सहकार्य जारी राख्ने उल्लेख गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours