एप्पलले सार्वजनिक गर्‍यो फोल्डेबल ‘आइफोन ड्युओ’, नयाँ वाच र एअरपड्स बजारमा

क्यालिफोर्नियामा आयोजित कार्यक्रममा कम्पनीले आइफोन १८ प्रो सिरिज, एअरपड्स ५ र एप्पल वाचका नयाँ मोडल पनि सार्वजनिक गरेको छ ।

२५ भदाै, काठमाडौँ । टेक कम्पनी, एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आइफोन ड्युओ’ सार्वजनिक गरेको छ । नेपाली समयअनुसार बुधबार साँझ क्यालिफोर्नियास्थित एप्पल पार्कमा आयोजित समारोहमा कम्पनीले नयाँ आइफोनसँगै अन्य थुप्रै उत्पादन बजारमा ल्याएको छ । कार्यक्रममा आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स, एअरपड्स ५ र एप्पल वाचका नयाँ मोडल सार्वजनिक गरिएका छन् ।

कम्पनीका मुख्य कार्यकारी अधिकृत (सीईओ) जन टर्नसले कार्यक्रमलाई सम्बोधन गर्दै आर्टिफिसियल इन्टेलिजेन्सले नयाँ अनुभवहरू सम्भव बनाएको बताए । ‘जब एआईले तपाईंको जीवनलाई तपाईंले दैनिक प्रयोग गर्ने एप, सेवा र उत्पादनसँग जोड्छ, यो अझै बढी उपयोगी हुन सक्छ,’ उनले भने, ‘यसको अर्थ तपाईंको अनुभवको केन्द्रमा रहेको प्रोडक्ट अझ बढी आवश्यक बन्न पुग्छ । म त्यसलाई इन्टेलिजेन्ट पर्सनल हबका रूपमा अर्थ्याउँछु ।’

एप्पलको फोल्डेबल मोडल आइफोन ड्युओको प्रारम्भिक मूल्य १ हजार ९ सय ९९ अमेरिकी डलर तोकिएको छ । भारतमा यसको सुरुवाती मूल्य २ लाख ९९ हाजर ९०० भारु राखिएको छ । यो फोन स्टार ह्वाइट र नाइट स्काई गरी दुई रङमा उपलब्ध हुनेछ । यसमा ७.६ इन्चको भित्री डिस्प्ले र ५.४ इन्चको बाहिरी डिस्प्ले रहेको छ ।

कार्यक्रममा सीईओ टर्नसले अन्य फोल्डेबल फोनहरू दुईवटा फोनलाई भद्दा रूपमा आपसमा टाँसेजस्तै देखिने टिप्पणी गरेका थिए । आइफोन ड्युओमा भने राहदानी आकारको सहज डिजाइन गरिएको उनको दाबी छ । यसको फ्रेम एरोस्पेस-ग्रेड टाइटेनियमबाट बनेको र सुरक्षाका लागि साइड बटनमै टच आईडी राखिएको एप्पलले जनाएको छ ।

कम्पनीका हार्डवेयर प्रमुख जोनी स्रुजीका अनुसार फोनमा नयाँ ए२० प्रो चिप र स्वदेशी सि२ मोडेम प्रयोग गरिएको छ। सि२ मोडेमले १५ प्रतिशत कम ऊर्जा खपत गर्दै ५० प्रतिशत छिटो काम गर्ने उनले बताइन् । यस्तै, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष क्रेग फेडेरिगीले दुईवटा स्क्रिनका लागि आईओएसका सुविधा परिमार्जन गरिएको जानकारी दिए । प्रयोगकर्ताले दुवै स्क्रिनमा एकैपटक दुईवटा एप्स चलाउन सक्नेछन् । यसको प्रि-अर्डर अक्टोबर १६ देखि शुरु हुनेछ भने बिक्री अक्टोबर २३ बाट शुरु हुनेछ ।

एप्पलले आफ्ना फ्ल्यागसिप मोडल आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स पनि सार्वजनिक गरेको छ । आइफोन १८ प्रोको सुरुवाती मूल्य १ हजार १ सय ९९ डलर र प्रो म्याक्सको मूल्य १ हजार २ सय ९९ डलर तोकिएको छ । भारतमा यिनको मूल्य क्रमशः १ लाख ६४ हजार ९०० र १ लाख ७९ हजार ९०० भारु छ । कम्पोनेन्ट र मेमोरीको लागत बढेकाले अघिल्लो वर्षको तुलनामा आइफोनको मूल्यमा १०० डलर वृद्धि गरिएको छ ।

यी प्रो मोडलमा टीएसएमसीको टु-न्यानोमिटर प्रविधिमा बनेको नयाँ ए२० प्रो चिप राखिएको छ । यसको सीपीयू २० प्रतिशत र जीपीयू ४० प्रतिशत छिटो चल्ने उल्लेख गरिएको छ । फोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरा छ, जसमा छ वटा लेजर-कट ब्लेडयुक्त भ्येरिएबल एपर्चर प्रविधि छ । फोटोको आधिकारिकता पुष्टि गर्न यसमा ‘एप्पल रेफरेन्स इमेज’ फिचर पनि थपिएको छ । आइफोन १८ प्रो र एप्पल वाचको प्रि-अर्डर यही हप्तादेखि शुरु हुँदै छ ।

एप्पलले एअरपड्स ५ पनि बजारमा ल्याएको छ । यसको सुरुवाती मूल्य १२९ डलर राखिएको छ । वायरलेस चार्जिङ सुविधा भएको अर्को मोडलको मूल्य १४९ डलर तोकिएको छ । ओपन-इअर डिजाइनको यस एअरपड्समा एक्टिभ नोइज क्यान्सेलेसन, लाइभ ट्रान्सलेसन र सिरि एआई सुविधा समावेश छन् ।

यसैगरी एप्पल वाच सिरिज १२ र एप्पल वाच अल्ट्रा ४ पनि सार्वजनिक गरिएको छ । सिरिज १२ को मूल्य ३९९ डलर र अल्ट्रा ४ को मूल्य ७९९ डलरबाट शुरु हुन्छ । यी घडीमा हेल्थ सेन्सिङ सिस्टम राखिएको छ । यसले पहिलेभन्दा ६० गुणा बढी पटक मुटुको धड्कन मापन गर्ने एप्पलले जनाएको छ । नयाँ घडीमा अडियो इन्टेलिजेन्सअन्तर्गत १५ सेकेन्ड अघिको कुराकानी सुन्न सकिने ‘लाइभ रिवाइन्ड’ र संवादको सारांश बनाउने ‘सिरि रिक्याप’ फिचर राखिएको छ ।

नयाँ प्रोडक्ट सार्वजनिक भइरहँदा सेयर बजारमा भने एप्पलको सेयर मूल्यमा गिरावट आएको थियो । पछिल्लो २४ घण्टामा एप्पलको शेयरमा ‍उतारचढाव देखिएको छ । अमेरिकी बजारको नियमित कारोबार समयमा एप्पलको शेयर मूल्य ०.२८ प्रतिशत अर्थात् ०.८८ डलरले ओरालो लाग्दै ३१५.३४ अमेरिकी डलरमा बन्द भएको छ । नियमित बजार बन्द भएपछिको ‘आफ्टर-आवर्स’ कारोबारमा भने शेयर मूल्यमा सुधार देखिएको छ । यस अवधिमा शेयर ०.८७ प्रतिशतले बढेर ३१८.१० डलर पुगेको छ ।

एजेन्सी

You May Also Like

More From Author

+ There are no comments

Add yours